लमजुङका 'नचिनिएका हिरा'हरूको सम्मान: अन्नपूर्ण आरोहण दिवसले उधिनेको साहसिक पर्यटनको सम्भावना

ecopolinews.com

रविन्द्र कट्टेल - नेपालको साहसिक पर्यटन र पर्वतारोहणको इतिहासमा लमजुङ सधैँ महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा रहँदै आएको छ। यसै ऐतिहासिक गौरवलाई थप ऊर्जा प्रदान गर्दै ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा आयोजित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रमले नेपाली पर्वतारोहणका तीन विशिष्ट नक्षत्रहरूलाई सम्मान गरेको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा जेठ २० र २१ गते सम्पन्न यस कार्यक्रमले हिमालका हिरोहरूको उच्च मूल्याङ्कन गरेको छ। सम्मानित हुनेहरूमा विश्व कीर्तिमानी महिला आरोही पूर्णिमा श्रेष्ठसँगै लमजुङकै माटोमा जन्मिएर विश्वभर तहल्का मच्चाइरहेका तर आफ्नै जिल्लाले चिन्न नसकेका दुई अमूल्य हिराहरू नरेन्द्र शाही र मनराज गुरुङ रहेका छन्।

लमजुङले भर्खरै चिन्दै गरेका अमूल्य निधि: नरेन्द्र र मनराज

लमजुङको राईनास नगरपालिकाले जन्माएका नरेन्द्र शाही र मनराज गुरुङ नेपाली पर्वतारोहणका क्षेत्रमा केवल नाम मात्र होइनन्, उनीहरू साहसिक पर्यटनका जिउँदा विश्वविद्यालय हुन्। विडम्बना नै भन्नुपर्छ, विश्वले उहाँहरूको साहस र प्राविधिक ज्ञानको उच्च कदर गरिरहँदा उहाँहरूकै गृह जिल्ला लमजुङ भने यी दुई 'नचिनिएका हिरा'हरूको क्षमता उपयोग गर्नबाट लामो समय वञ्चित रह्यो।

नरेन शाही ठकुरीको नामले विश्व पर्वतारोहण बजारमा चिनिने नरेन्द्र शाही विगत दुई दशकदेखि यस क्षेत्रमा एकछत्र राज गरिरहेका अन्तर्राष्ट्रिय स्तरका माउन्टेन गाइड, प्रशिक्षक र उद्धार विशेषज्ञ हुन्। सन् २००५ मा मेरा पिकबाट सुरु भएको उहाँको साहसिक यात्राले सन् २०२४ सम्म आइपुग्दा सगरमाथाको पाँच पटक सफल आरोहण गरिसकेको छ। सन् २०१७ मा टोबसार पिक (६,१०० मि) को पहिलो आरोहणको कीर्तिमान रच्नुभएका शाहीले युरोपका आइसल्याण्ड, फ्रान्स, स्विजरल्याण्ड, इटाली र रुसका अत्यन्तै चुनौतीपूर्ण चुचुराहरूमा नेपालको झण्डा फहराइसक्नुभएको छ। चीन र नेपालमा माउन्टेन गाइड कोर्सका 'एजुकेसन चिफ' रहेर नयाँ पुस्तालाई प्रशिक्षित गरिरहनुभएका उहाँले हेलिकप्टर लङ लाइन रेस्क्यु जस्ता अति संवेदनशील प्राविधिक ज्ञान हासिल गर्नुभएको छ।

त्यसैगरी, प्राज्ञिक ज्ञान र पर्वतारोहणलाई सँगसँगै अगाडि बढाएर 'बौद्धिक आरोही' को विशिष्ट पहिचान बनाउनुभएका राईनास नगरपालिका, प्यारजुङका मनराज गुरुङ अर्का त्यस्ता प्रेरणादायी व्यक्तित्व हुन् जसको क्षमताको पूर्ण मूल्याङ्कन लमजुङले गर्न अझै बाँकी छ। व्यावसायिक अध्ययन र बौद्ध धर्म तथा हिमाली अध्ययनमा दुईवटा स्नातकोत्तर डिग्री हासिल गर्नुभएका गुरुङले १५ मे २०२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नो १५ वर्षे लामो साहसिक यात्रालाई प्रमाणित गरिसक्नुभएको छ। हिमलुङ, आमादब्लम हुँदै अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारोसम्म पुग्नुभएका उहाँ 'बोधी एडभेन्चर्स' मार्फत पर्यटन, अध्यात्म र व्यवसायलाई जोड्दै हुनुहुन्छ। नेपाली सेना र नेपाल प्रहरीका जवानहरूलाई विपद् व्यवस्थापन र रोप रेस्क्युको तालिम दिने उहाँ एक कुशल अन्तर्राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ।

साहसिक महिलाको अद्वितीय पर्याय: पूर्णिमा श्रेष्ठ

यसै अवसरमा सम्मानित गोरखाकी पूर्णिमा श्रेष्ठ नेपाली महिलाको साहस, दृढता र आत्मविश्वासकी प्रतीक हुन्। फोटो पत्रकारिताबाट हिमालको काखमा पुग्नुभएकी श्रेष्ठले छोटो समयमै विश्वलाई चकित पार्ने उपलब्धि हासिल गर्नुभएको छ। सन् २०२४ मा मात्रै सगरमाथाको १३ दिनभित्र तीन पटक आरोहण गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनुभएकी उहाँ एकै सिजनमा तीन पटक सगरमाथा चढ्ने विश्वकै पहिलो महिला हुन्। सन् २०२६ मा छैटौँ पटक सगरमाथा चुचुरोमा पुगेकी उहाँले अन्नपूर्ण, धौलागिरि, केटु लगायत आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सफलतापूर्वक आरोहण गरेर सीएनएन जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेकी छन्।

लमजुङको पर्यटनमा उहाँहरूले गर्न सक्ने युगान्तकारी योगदान

नरेन्द्र शाही र मनराज गुरुङ जस्ता विश्वस्तरीय जनशक्ति लमजुङकै सन्तान हुनु यो जिल्लाको लागि ऐतिहासिक अवसर हो। यदि स्थानीय तह र प्रदेश सरकारले उहाँहरूको विशेषज्ञतालाई रणनीतिक रूपमा प्रयोग गर्ने हो भने लमजुङको पर्यटन क्षेत्रले कायापलट गर्न सक्छ।

यी दुई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा लमजुङमा अन्तर्राष्ट्रिय स्तरको 'माउन्टेनियरिङ एण्ड रेस्क्यु ट्रेनिङ सेन्टर' स्थापना गर्न सकिन्छ। जसले गर्दा लमजुङका सयौँ युवाहरूले विश्व बजारमा बिक्ने साहसिक पर्यटनको प्राविधिक तालिम आफ्नै आँगनमा पाउन सक्नेछन्। मनराज गुरुङको बौद्धिक तथा प्राज्ञिक ज्ञान र नरेन्द्र शाहीको प्राविधिक तथा उद्धार क्षमतालाई संयोजन गरी लमजुङका अनगिन्ती भर्जिन पिकहरू र नयाँ ट्रेकिङ रुटहरूको पहिचान, म्यापिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न सम्भव छ।

अन्नपूर्ण सर्किटको प्रवेशद्वार मात्रै मानिने लमजुङलाई अब यी दुई हिराहरूको अनुभव प्रयोग गरेर गन्तव्यकै रूपमा विकास गर्न सकिन्छ। उहाँहरूको अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गरी युरोप, अमेरिका र एसियाका उच्च पर्यटकहरूलाई लमजुङमा सिधै भित्र्याउन 'कस्टमाइज्ड एड्भेन्चर प्याकेज'हरू निर्माण गर्न सकिन्छ। त्यसैले, यो सम्मान केवल गलामा खादा र हातमा प्रमाणपत्र भिराउने औपचारिकतामा मात्र सीमित नहोस्। दोर्दी गाउँपालिका र समग्र लमजुङले नरेन्द्र र मनराज जस्ता आफ्नै माटोका अमूल्य हिराहरूको भिजन र मिसनलाई आफ्नो नीति तथा कार्यक्रममा समाविष्ट गरी लमजुङलाई साहसिक पर्यटनको विश्वव्यापी केन्द्र बनाउने दिशामा ठोस कदम चाल्नु अपरिहार्य छ। PC: Ratopati

प्रतिक्रिया