भदौ २४ को विध्वंश : संगठन नभए पनि जनआक्रोशले मच्चायो विनाश

ecopolinews.com

काठमाडौं, असोज १२ – भदौ २३–२४ को घटनाले काठमाडौं मात्र नभई देशैभर ठूलो विध्वंश मच्चायो। यस घटनालाई कतिपय पुराना राजनीतिक नेताहरूले विदेशी षड्यन्त्र वा योजनाबद्ध संगठनको हातले गराएको ठान्न खोजे। तर सामाजिक विश्लेषक र अर्थशास्त्रीहरूको भनाइ अनुसार, यो विध्वंश कुनै संगठनको पूर्वनिर्धारित योजना नभई स्वतःस्फूर्त जनआक्रोशको परिणाम थियो।

स्वचालित काइदा र विध्वंशको विज्ञान

अस्ट्रियाली अर्थशास्त्री लुडविग भोन मिसेस र उनका चेला एफ. ए. हायेकले प्रस्तुत गरेका "स्वचालित काइदा" (Spontaneous Order) को सिद्धान्तले देखाउँछ कि कुनै पनि सामाजिक वा आर्थिक संरचना मात्र केन्द्रीय योजनाबाट जन्माउने कुरा होइन। बजार, भाषा, कानुनजस्ता संरचनाहरू करोडौं व्यक्तिको व्यक्तिगत कार्यबाट क्रमिक रूपमा विकसित हुन्छन्।

हायेकको सिद्धान्तलाई विध्वंशमा लागू गर्दा, एक केन्द्रीय निकाय वा संगठनको अभावमा पनि ठूलो स्तरमा विध्वंश मच्चन सक्छ। जसरी बजारमा हरेक व्यक्तिको व्यक्तिगत निर्णयले अप्रत्याशित तर व्यवस्थित परिणाम ल्याउँछ, त्यस्तै आक्रोशित भिडले स्वतःस्फूर्त विध्वंशकारी कार्यहरू अघि बढाउँछ।

"आई, पेन्सिल" सिद्धान्त

१९५८ मा अर्थशास्त्री लियोनार्ड रिडले आफ्नो निबन्ध "I, Pencil" मार्फत देखाएका थिए कि कसरी लाखौं अपरिचित मान्छेको व्यक्तिगत क्रियाकलापबाट एउटा साधारण पेन्सिल बनाइन्छ। प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न कार्य गर्छ, तर परिणामस्वरूप एक जटिल, व्यवस्थित संरचना (पेन्सिल) जन्मिन्छ।

ठ्याक्कै यसै तरिकाले, विध्वंशमा पनि व्यक्तिगत आक्रोश र अवसरपरस्त कार्यहरूले ठूलो स्तरमा विनाश निम्त्याउँछन्। यसमा कसैले निर्देशन दिनुपर्दैन, कुनै योजना बनाउनुपर्दैन। भीड आफैं एक स्वतःस्फूर्त संरचना बनेर कार्य गर्छ।

सामाजिक असन्तोष र ट्रिगर इभेन्ट

नेपालमा सामाजिक असन्तोष लामो समयदेखि चुलिँदै आएको थियो। भ्रष्टाचार, बेरोजगारी, न्यून ज्याला, सरकारी उदासीनता, महँगी, जातीय–लैंगिक–धार्मिक भेदभाव र अन्यायको पहाडले नागरिकको मनमा गहिरो आक्रोश भण्डारण गरेको थियो।

भदौ २३ मा किशोरहरूको हत्या भयो। यो विभत्स घटना सामाजिक सञ्जालमार्फत सबैको आँखामाथि पुग्यो। त्यही दृश्यले विस्फोटक भूमिका खेलेर आक्रोशित भीडलाई सडकमा निस्कन उत्प्रेरित गर्‍यो। स्वतःस्फूर्त रूपमा मानिसहरूले आफ्नो व्यक्तिगत क्रियाकलाप प्रदर्शन गर्न थाल्दै ठूलो विध्वंशको श्रृंखला सुरु भयो।

सामाजिक सञ्जालले पनि सूचना प्रसारणको रूपमा महत्त्वपूर्ण काम गर्‍यो। चरम अत्याचारको दृश्यले लाखौं व्यक्तिमा भावनात्मक प्रतिक्रिया उत्पन्न गर्‍यो, जसले आक्रोशको श्रृंखला चाँडै फैलायो। भीडको संरचना र सामूहिक मनोविज्ञानले मान्छेहरूलाई असुरक्षित महसुस गराउँदै एकसाथ विध्वंशमा संलग्न गरायो।

अघिल्लो उदाहरण: इराकमा नेपालीको हत्या

२०६१ भदौ १६ मा इराकमा १२ जना नेपालीको आतंककारी समूहद्वारा हत्या भएपछि काठमाडौंमा फैलिएको आक्रोशको उदाहरण पनि याद गर्न लायक छ। केही घन्टामै म्यानपावर कम्पनी, मस्जिद, निजी घर, व्यावसायिक भवन र सञ्चारगृहमा आगजनी र तोडफोड भयो। त्यतिबेला पनि कुनै संगठनको आदेश थिएन; आक्रोश र उत्सर्जित भावनाले आफैं ठूलो विध्वंश निम्त्यायो।

सकारात्मक र नकारात्मक स्वचालित परिचालन

हायेकले देखाएको जस्तै, स्वचालित परिचालनको परिणाम सकारात्मक वा नकारात्मक हुन सक्छ। सकारात्मक उदाहरण क्रिप्टोकरेन्सी हो। बिटकोइन र अन्य क्रिप्टो मुद्राहरूले देखाउँछन् कि कुनै केन्द्रीय निकायको हस्तक्षेप बिना पनि ठूलो स्तरमा प्रणाली सञ्चालन हुन सक्छ।

तर नकारात्मक पक्षमा, जनआक्रोशले विध्वंश मच्चाउँछ। व्यक्तिको व्यक्तिगत स्वार्थ वा आक्रोश, भीडमा मिसिएर अप्रत्याशित, अराजक तर प्रभावशाली परिणाम दिन्छ।

भदौ २४ को विध्वंश कुनै संगठन वा योजना अन्तर्गतको गतिविधि थिएन। यो लामो समयदेखि सञ्चित सामाजिक असन्तोष, व्यक्तिगत पीडा, ट्रिगर घटना, सामाजिक सञ्जालको प्रभाव र भीडको मनोविज्ञानले मिलेर सिर्जना भएको स्वतःस्फूर्त विस्फोट थियो।

पुराना नेताहरूले "षड्यन्त्र" भन्ने भाषा प्रयोग गरेर आफ्नो जिम्मेवारी पन्छाउन खोजेका छन्। तर वास्तविकता स्पष्ट छ– विध्वंशको केन्द्रमा कुनै संगठन थिएन, थियो जनताको लामो समयसम्म थिचिएको आक्रोश र उसको स्वतःस्फूर्त प्रवाह।

सेतोपाटी बाट परिमार्जन गरिएको ।

प्रतिक्रिया