ओलीको आह्वान: “युवालाई देशभक्त र जिम्मेवार बनाउनुपर्छ

ecopolinews.com

काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देशप्रेम र जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरेका छन्। जेन–जी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका ओली हाल भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। त्यहीँबाट युवापंक्तिलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा हरेस नखान आग्रह गरे।

ओलीले युवाप्रति देश र जनताको माया गर्ने संस्कार बसाल्नुपर्ने बताए। उनले भने, “असभ्य र गैरजिम्मेवार हुनु युवापन होइन, जिम्मेवार हुनु नै वास्तविक युवापन हो। नयाँ पुस्ता अत्यन्तै जिम्मेवार, कर्मठ र सभ्य हुनुपर्छ।”

सामाजिक सञ्जालको दुरुपयोगले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा बदनाम बनाइएको भन्दै उनले आत्ममूल्यांकन गर्नुपर्नेमा जोड दिए। भिसा नदिने अवस्थासम्म पुग्नु देशको अपमान भएको उनको भनाइ थियो।

ओलीले सिंहदरबार जलाउने घटना योजनाबद्ध भएको दाबी गर्दै प्रश्न गरे, “देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउँछन् र? पक्कै होइन। त्यस्तो कार्य घुसपैठिया तत्वले मात्र गर्न सक्छ।” उनले यस्ता घटनाले राष्ट्रलाई हतोत्साहित नगर्ने भन्दै उज्यालो आउने विश्वास गर्नुपर्ने उल्लेख गरे।

प्रतिक्रिया