कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी घोषणा: ‘दाइदेखि एआईसम्मलाई जोड्ने डिभाइस बन्छु’

ecopolinews.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा काठमाडौं क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको गौरवपूर्ण इतिहासलाई नयाँ सोच, ऊर्जा र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने सङ्कल्पसहित उनले राजधानी काठमाडौंमा आफूलाई केन्द्रीय नेतृत्वको दौडमा उभ्याएका हुन्।

आम कार्यकर्ताले सोध्ने ‘तपाईंको उम्मेदवारी किन?’ भन्ने प्रश्नको निकै मार्मिक र प्रतीकात्मक जवाफ दिँदै भट्टले आफूलाई कांग्रेसरूपी ‘रुखको जरा’का रूपमा अर्थ्याएका छन्। जराले कहिल्यै माथि पुग्ने होडबाजी नगर्ने, बरु माटोमुनि लुकेरै भए पनि सिंगो रुखलाई बलियो बनाउने उनको भनाइ छ। आफू सधैँ जरा नै रहेर कांग्रेसको रुखलाई यति मजबुत बनाउन चाहने, जसको छहारीमा आम नागरिकले सुरक्षित र सम्मानित महसुस गर्दै आशावादी बन्न सकून् भन्ने उनको मुख्य ध्येय रहेको छ।

भट्टको उम्मेदवारी कुनै एक विशेष पुस्ताका लागि मात्र नभई सिंगो पार्टीलाई एकताबद्ध बनाउने अभियानका रूपमा अघि सारिएको छ। परम्पराको सम्मान गर्दै समयसापेक्ष परिवर्तनको बाटो रोजेका उनले ‘बा’देखि युवासम्म र ‘दाइदेखि एआईसम्म’लाई जोड्ने भरपर्दो सेतु (डिभाइस) बन्ने अठोट व्यक्त गरेका छन्। अब कांग्रेसले केवल इतिहास सम्झिने मात्र नभई नयाँ इतिहास रच्ने पुस्तासँगै कदम मिलाएर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।

आफूसँग इमानदार कार्यकर्ताको अगाध विश्वास, परिवर्तनकामी युवाको बुलन्द आवाज र अग्रज पुस्ताको मार्गनिर्देशन रहेको बताउँदै भट्टले सिंगो कांग्रेसलाई नै आफ्नो मूल टिम मानेका छन्। पन्ध्रौँ महाधिवेशनका प्रतिनिधिहरूसँग अमूल्य माया र साथको हार्दिक अपिल गर्दै उनले कुराले नभई परिणाममुखी कामले हरेक दिन पार्टी रूपान्तरणमा लागिपर्ने प्रण समेत गरेका छन्।


प्रतिक्रिया