चाडपर्व लक्षित आतङ्कको योजना ? टर्कीमा ISIS सञ्जालमाथि एकैदिन ठूलो कारबाही, ३५७ पक्राउ

ecopolinews.com

टर्कीले इस्लामिक स्टेट (ISIS) सञ्जालविरुद्ध देशव्यापी ठूलो सुरक्षा अपरेशन सञ्चालन गरेको छ। टर्कीका गृहमन्त्रीका अनुसार मंगलबार देशभर गरिएको छापामा ISISसँग सम्बन्ध रहेको आशंकामा ३५७ जनालाई पक्राउ गरिएको छ।

यो कारबाही एक दिनअघि मात्र यालोभा प्रान्तमा भएको घातक मुठभेडपछि गरिएको हो। उक्त मुठभेडमा ३ जना प्रहरी र ६ जना ISIS लडाकु मारिएका थिए। प्रहरीका अनुसार, ISIS ले प्रयोग गर्दै आएको एउटा गोप्य घरमा छापा मार्दा ८ जना प्रहरी र एक रात्री सुरक्षागार्ड घाइते भएका छन्।

सुरक्षा निकायले क्रिसमस र नयाँ वर्षका अवसरमा आतङ्ककारी हमला गर्ने योजना बनिरहेको खुफिया सूचना पाएपछि तत्काल कारबाही तीव्र बनाइएको जनाएको छ। मंगलबार मात्र इस्तानबुल, अंकारा, यालोभासहित २१ प्रान्तमा एकैसाथ अपरेशन गरिएको थियो।

यसअघि इस्तानबुलका मुख्य सरकारी वकिलको कार्यालयले ११४ स्थानमा छापा मारेर ११० जना पक्राउ गरिएको जानकारी दिएको थियो।

अनुसन्धानका क्रममा केही पक्राउ परेकाहरूले दानको नाममा पैसा संकलन गरी सिरियास्थित ISIS सञ्जालमा पठाएको पाइएको छ। छापाका क्रममा बरामद डिजिटल सामग्रीहरूले उनीहरूको ISIS लडाकुसँग प्रत्यक्ष सम्पर्क रहेको पुष्टि गरेको प्रहरीले जनाएको छ।

उल्लेखनीय छ, ISIS ले टर्कीमा विगतमा पनि ठूला आतङ्ककारी हमला गरेको इतिहास छ। सन् २०१७ को नयाँ वर्षको रात इस्तानबुलको नाइटक्लबमा भएको गोलीकाण्डमा ३९ जनाको ज्यान गएको थियो।

टर्की सरकारले चाडपर्वको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आतङ्कवादविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारेको छ।

प्रतिक्रिया