गण्डकीका किसानको सशक्त आवाज — बुद्धि बहादुर गुरुङ सह-महामन्त्री पदका उम्मेदवार

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौं — नेपाल किसान महासंघको चौथो केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा किसान समुदायभित्र उत्साहजनक वातावरण बनेको छ। यही अवसरमा गण्डकी प्रदेशको तर्फबाट सह-महामन्त्री पदमा उम्मेदवार बनेका बुद्धि बहादुर गुरुङ किसानका वास्तविक प्रतिनिधि तथा कृषक अधिकारका दृढ अभियन्ता मानिन्छन्।

नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भए पनि किसानहरू लामो समयदेखि बिचौलियाको शोषण, मलविज्ञापन अभाव, बजार व्यवस्थापनको कमजोरी, बीमा तथा सब्सिडीमा पहुँच नपाउने जस्ता समस्याबाट ग्रस्त छन्। यस्ता चुनौतीलाई सम्बोधन गर्दै किसान महासंघले किसानको आवाजलाई राजनीतिक–सामाजिक एजेन्डामा प्रभावकारी रूपमा पु¥याउँदै आएको छ।

गुरुङको उम्मेदवारीले गण्डकी प्रदेशका किसानहरूको आवाजलाई राष्ट्रिय स्तरमा उठाउने अपेक्षा गरिएको छ। उनी किसानलाई आवश्यक प्राविधिक सहयोग, उत्पादनलाई बजारमा न्यायोचित मूल्य दिलाउने, आधुनिक कृषि प्रविधिको प्रयोगमा राज्यलाई दबाब दिने र सहकारी प्रणालीलाई सबल बनाउनतर्फ लागिपर्ने प्रतिवद्धता राख्छन्।

नेपाल किसान महासंघले ल्याएको ‘किसानको अधिकार, आत्मनिर्भर कृषि र समृद्ध राष्ट्र’ भन्ने नारा गुरुङले आफ्नो एजेन्डामा केन्द्रीय रुपमा लिएका छन्। उनी भन्छन् — “किसानको पसिनाको मूल्य सुरक्षित नगरी देशको समृद्धि सम्भव छैन। मेरो प्राथमिकता किसानलाई आत्मनिर्भर बनाउन, खेतीलाई व्यवसायिक बनाउन, अनि कृषक सन्तानलाई भविष्य सुरक्षित गर्ने आधार तयार पार्ने हो।”

गण्डकी प्रदेशका किसानहरूले बुद्धि बहादुर गुरुङलाई व्यापक समर्थन जनाउन थालेका छन्। महासंघकै नेतृत्व तहमा जान सक्ने सम्भावित उम्मेदवारमध्येकै उनी किसान आन्दोलनलाई व्यावहारिक नीतिगत उपलब्धिमा परिणत गर्न सक्षम हुने विश्वास किसानहरूले लिएका छन्।

यसअघि पनि गुरुङ विभिन्न किसान अभियान, सहकारी सुदृढीकरण कार्यक्रम र कृषक–हितका तालिमहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।

नेपाल किसान महासंघको चौथो केन्द्रीय महाधिवेशन २०८२ भदौ १९ र २० गते हुँदैछ। यस महाधिवेशनमार्फत महासंघले नयाँ नेतृत्व चयन गर्दै किसान आन्दोलनलाई अझ संगठित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

गण्डकी प्रदेशका किसानहरूको सशक्त प्रतिनिधित्वका लागि बुद्धि बहादुर गुरुङलाई सह-महामन्त्रीमा विजयी गराउनु किसान आन्दोलनको साझा आवश्यकता बनेको छ।

प्रतिक्रिया