सुन्धारा जेलको पर्खाल नाघेर भाग्ने कैदीको 'सपना' तीन दिनमै चकनाचुर : मध्यराति कसरी दिइन् प्रहरीलाई चक्मा ?

ecopolinews.com
राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारको कडा सुरक्षा घेरा तोड्दै मध्यराति फरार भएकी एक महिला कैदीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले असन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी गत शुक्रबार राति करिब १ बजेतिर कारागारको अग्लो पर्खाल नाघेर फिल्मी शैलीमा फरार भएकी थिइन्।
कारागार प्रशासनका अनुसार उनले भुइँमा केही वस्तु ओछ्याएर त्यसकै सहारामा पर्खाल नाघेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुरक्षाकर्मीलाई झुक्याउँदै जेलबाट भागेको सपनाको यो पहिलो घटना भने होइन। यसअघि देशमा चर्केको 'जेनजी' आन्दोलनको मौका छोपेर फरार भएकी उनी त्यतिबेला दुई महिनापछि मात्रै प्रहरीको फन्दामा परेकी थिइन्। 'सिरियल एस्केपर' को रूपमा देखिएकी उनलाई यसपटक भने प्रहरीले सक्रियता देखाउँदै भागेको तीन दिनभित्रै पुनः पक्राउ गर्न सफल भएको छ। बारम्बार कारागारबाटै फरार हुने उनको यो दुस्साहसले भने जेलको आन्तरिक सुरक्षा व्यवस्था र निगरानीमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
Pc: onlinekhabar

प्रतिक्रिया