बी.पी.को विचार आज पनि राष्ट्रिय मार्गदर्शक

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौं, श्रावण ५ । नेपाली कांग्रेसले जननायक बी.पी. कोइरालाको स्मृतिलाई सम्मान गर्दै ४४औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा श्रावण ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा देशभरका लोकतन्त्रप्रेमी नागरिक, बुद्धिजीवी, युवा तथा कांग्रेस कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन आह्वान गर्दै नेपाली कांग्रेसका युवा नेता मनिष जङ्ग थापाले बी.पी. कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त आजको नेपालका लागि अझ सान्दर्भिक बनेको बताएका छन्।

थापाले भनेका छन्, "लोकतन्त्र केवल शासन व्यवस्था होइन, जनताको अधिकार, सम्मान र अवसरको सुनिश्चितता हो। बी.पी.ले देखाएको मेलमिलाप र राष्ट्रिय एकताको मार्ग आज पनि नेपालको स्थायित्व र समृद्धिको आधार हो।"

उनका अनुसार वर्तमान समयमा राजनीतिक ध्रुवीकरण, निराशा र अविश्वास बढिरहेका बेला बी.पी.को विचारले राष्ट्रिय सहमति, सहकार्य र समृद्धिको बाटो देखाउने क्षमता राख्छ।

जनताको पक्षमा उभिएको कांग्रेसको मूल दर्शन

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार र बहुदलीय लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आएको छ। राणा शासनको अन्त्यदेखि लोकतन्त्रको पुनर्स्थापना र संविधानसभामार्फत संविधान निर्माणसम्म कांग्रेसको योगदान ऐतिहासिक रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

बी.पी. कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवाद आज पनि कांग्रेसको प्रमुख मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ। यसले राजनीतिक स्वतन्त्रतासँगै सामाजिक न्याय, आर्थिक समानता र नागरिकको सम्मानजनक जीवनको पक्षमा वकालत गर्दछ।

मेलमिलापको सन्देश अझै उत्तिकै सान्दर्भिक

राष्ट्रिय मेलमिलापको नीति बी.पी. कोइरालाको दूरदर्शी राजनीतिक सोचको प्रतिफल मानिन्छ। सत्ता र प्रतिपक्ष, फरक विचार र फरक समुदायबीच संवाद, सहअस्तित्व र सहकार्यको संस्कृतिलाई बलियो बनाउने उनको अवधारणा आज पनि लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

युवा नेता थापाले युवापुस्तालाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा उभिन आग्रह गर्दै बी.पी.को विचारलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।

कमलादीमा विशेष कार्यक्रम

आयोजक समितिका अनुसार श्रावण ६ गते बिहान ११:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कार्यक्रममा बी.पी. कोइरालाको राजनीतिक योगदान, राष्ट्रिय मेलमिलापको अवधारणा तथा लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिकामाथि विशेष चर्चा गरिनेछ।

कार्यक्रमलाई लोकतन्त्र, राष्ट्रिय एकता र जनमुखी राजनीतिको पक्षमा नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया