नरेन्द्र शाही - काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) हाताभित्र एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल तथा आसपास क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलहरूले सार्वजनिक रूपमा आह्वान गरेपछि प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै कडा कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार, बिहीबारदेखि लागू हुने गरी विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र र सम्पूर्ण विमानस्थल परिसरभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा जस्ता कार्यक्रम गर्न पूर्णतः रोक लगाइएको छ।
किन गरियो यस्तो निर्णय?
आदेशमा उल्लेख भएअनुसार विमानस्थल जस्तो अत्यन्त संवेदनशील र रणनीतिक क्षेत्रमा भीडभाड र प्रदर्शन हुँदा उत्तेजित समूहबाट तोडफोड, आगजनी वा अन्य उच्छृङ्खल गतिविधि हुन सक्ने जोखिम उच्च रहेको ठहर गरिएको छ। अन्तर्राष्ट्रिय उडान, यात्रुको सुरक्षासहित राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले प्रशासनले अग्रिम सतर्कता अपनाएको जनाएको छ।
संवैधानिक हकप्रति प्रतिबद्धता
यद्यपि प्रशासनले निषेध आदेश जारी गरिएका क्षेत्र बाहेक अन्य स्थानमा भने संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकारप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
आदेशमा भनिएको छ—“निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा प्रत्येक नागरिकलाई विना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोध कार्यक्रम गर्न पाउने संवैधानिक हकप्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध छ।”
यस निर्णयसँगै फागुन १ का लागि घोषणा गरिएका सम्भावित कार्यक्रमहरू विमानस्थल क्षेत्रभित्र भने स्थगित हुने देखिएको छ। प्रशासनले सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै विमानस्थल परिसरमा निगरानी थप कडा बनाएको जनाएको छ।