एथेन्स । ग्रीसको चियोस टापु नजिकै आप्रवासी बोकेको एक स्पीडबोट ग्रीसको तटरक्षक जहाजसँग ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । चियोस जलडमरूमध्यको भ्रोन्तादेस गाउँ नजिकै गएराति भएको उक्त दुर्घटनाले फेरि एकपटक भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको जोखिमपूर्ण यात्रामाथि गम्भीर प्रश्न उठाएको छ।
ग्रीक तटरक्षक अधिकारीहरूका अनुसार स्पीडबोट असामान्य र जोखिमपूर्ण गतिमा चलिरहेको थियो । सोही क्रममा तटरक्षक जहाजले पछ्याइरहेका बेला ठक्कर भएको हो । दुर्घटनाको यकिन कारणबारे अनुसन्धान जारी रहे पनि प्रारम्भिक विवरणले मानवीय तस्करीसँग जोडिएको जोखिमपूर्ण यात्रा भएको संकेत गरेको छ।
दुर्घटनापछि तत्कालै ठूलो स्तरमा खोज तथा उद्धार अभियान सुरु गरिएको थियो । उद्धार कार्यमा चारवटा तटरक्षक जहाज, निजी डाइभिङ डुंगा तथा एक हेलिकप्टर परिचालन गरिएको छ । हालसम्म २४ जनालाई जीवितै उद्धार गरिएको छ, जसमा केहीको अवस्था गम्भीर रहेको ग्रीक अधिकारीहरूले बताएका छन् । अझै केही व्यक्ति बेपत्ता रहेको आशंका गरिएको छ।
ग्रीक सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जना बालबालिका, एक गर्भवती महिला र दुई जना तटरक्षक अधिकारी रहेका छन् । सुरुमा चार जनाको मृत्यु पुष्टि भए पनि राति ११ बजेसम्म थप १० शव फेला परेपछि मृतकको संख्या १४ पुगेको हो ।
पूर्वी भूमध्यसागर हुँदै युरोप छिर्ने मार्ग आप्रवासीहरूको प्रमुख तर अत्यन्तै जोखिमपूर्ण बाटो मानिन्छ । विगतमा पनि यही मार्गमा यस्ता दर्दनाक दुर्घटनाहरू पटक–पटक दोहोरिँदै आएका छन्, जसले सुरक्षित आप्रवासन र अन्तर्राष्ट्रिय मानवीय जिम्मेवारीबारे पुनः बहस चर्काएको छ।