झुम्का कारागारबाट फरारदेखि अन्तर्राष्ट्रिय लागूऔषध सञ्जालसम्म : आखिर को हुन् मोहम्मद नासिर?

ecopolinews.com

काठमाडौं/सिरहा, साउन ७ । सिरहाको लहानमा बिहीबार भएको लागूऔषध नियन्त्रण ब्यूरोको विशेष अपरेशनले नयाँ र चकित पार्ने तथ्य बाहिर ल्याएको छ। प्रहरी स्रोतका अनुसार घुँडामुनि गोली लागेर नियन्त्रणमा लिइएका ४० वर्षीय मोहम्मद नासिर मिया सामान्य लागूऔषध कारोबारी मात्र नभई कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी गम्भीर अपराधमा दोषी ठहर भई सम्मानित अदालतबाट २५ वर्षको जेल सजाय पाएका फरार अभियुक्त रहेको खुलेको छ।

प्राप्त जानकारीअनुसार सप्तरी निवासी नासिर मिया झुम्का कारागारबाट फरार भई लामो समयदेखि कानुनको आँखाबाट बच्दै आएका थिए। पछिल्लो समय उनी अन्तर्राष्ट्रिय लागूऔषध सञ्जालसँगको सम्पर्कमा रही सीमावर्ती क्षेत्रमा सक्रिय रहेको आशंका गरिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले लामो समयको निगरानी, गोप्य सूचना संकलन तथा अनुसन्धानपछि सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोक क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको थियो। अपरेशनका क्रममा प्रहरी टोलीमाथि प्रतिरोध भएपछि आत्मरक्षाका लागि गोली चलाइएको र नासिर मियालाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

उच्च जोखिमका बीच सञ्चालन गरिएको यो अपरेशनलाई लागूऔषध नियन्त्रण अभियानकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

घटनामा एक भारतीय नागरिकसहित दुई जना घाइते भएका छन् भने ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका अन्य व्यक्तिहरूमाथि पनि अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालसँग सम्बन्ध रहेको आशंकामा अनुसन्धान भइरहेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवासचन्द्र बोहोराले लागूऔषध कारोबार राष्ट्र, समाज र युवा पुस्तामाथिको संगठित आक्रमण भएको बताउँदै यसविरुद्धको अभियानलाई अझ सशक्त बनाइने बताएका छन्।

"देशलाई सुखी, समृद्ध र शान्त बनाउन लागूऔषध तथा संगठित अपराधलाई जरैदेखि निर्मूल पार्न आवश्यक छ। यस्ता अपराधीहरूविरुद्ध नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत हुनेछ। कानुनबाट भागेर कोही पनि उम्किन सक्दैन," एसएसपी बोहोराको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ।

उनले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल सचेत हुन चेतावनी दिँदै ब्यूरोका विशेष टोलीहरूलाई देशभर निगरानी, अनुसन्धान र कारबाहीलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन्।

सुरक्षा जानकारहरूका अनुसार, "२५ वर्ष जेल सजाय पाएका फरार अभियुक्त पुनः अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा सक्रिय रहेको खुलासा हुनु राज्यका लागि गम्भीर चुनौती हो। तर, लहानको यो अपरेशनले प्रहरीको अनुसन्धान क्षमता र अपराध नियन्त्रणमा देखिएको दृढतालाई पनि उजागर गरेको छ।"

लागूऔषध नियन्त्रण ब्यूरोले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यस प्रकरणले नेपालमा सक्रिय लागूऔषध सञ्जाल, सीमापार अपराध र फरार अभियुक्तहरूको भूमिकामाथि थप प्रश्न उठाएको छ।


प्रतिक्रिया