आइतबारदेखि सुरु हुँदैछ सोह्रश्राद्ध : पितृप्रति श्रद्धा अर्पण गर्ने विशेष पक्ष

ecopolinews.com

काठमाण्डु । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने पितृ पक्ष अर्थात् सोह्रश्राद्ध आइतबारदेखि देशभर विधिवत् रूपमा सुरु हुँदैछ। यस अवधिमा दिवङ्गत परिवारजनलाई सम्झेर श्रद्धापूर्वक तर्पण, सिदा दान र पिण्डदान गर्ने परम्परा रहेको छ।

सोह्रश्राद्धलाई आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिसँग जोडिएको छ। यस अवधिमा दिवङ्गत पितृलाई श्रद्धा अर्पण गरिने भएकै कारण यसलाई ‘सोह्रश्राद्ध’ भनिएको हो। वैदिक सनातन परम्परा अनुसार पितृ पक्षलाई अपर, प्रेत पक्ष वा महालय पनि भनिन्छ।

शास्त्रीय मान्यताअनुसार यस समयमा पितृहरू आशगरी बस्ने विश्वास छ। यसै कारण चाडपर्व, यज्ञयागादि वा अन्य महत्वपूर्ण कार्य अघि पितृलाई स्मरण गरी श्राद्ध गर्ने परम्परा रहिआएको हो।

असोज कृष्णपक्षमा पार्वण (महालय), एकोपार्वण र तीर्थश्राद्धको विशेष महत्व हुन्छ। अन्य समयमा दिवङ्गतको तिथिमा श्राद्ध गर्ने परम्परा भए पनि यस पक्षमा तिथिपरक पितृहरूको विशेष सम्झना गरिन्छ।

यद्यपि कृष्णपक्षमा १५ तिथि मात्र भए पनि पूर्णिमा तिथिमा दिवङ्गत भएकाको श्राद्ध औँसीमा गर्न सकिने प्रचलन छ। यसरी १६ वटै तिथिको प्रतिनिधित्व हुने भएकाले यसलाई ‘सोह्रश्राद्ध’ भनिएको हो।

प्रतिक्रिया