जैश–ए–मोहम्मदका तीन आतंकवादी नेपाल हुँदै भारत प्रवेश, बिहारमा ‘हाई अलर्ट’

ecopolinews.com

रविन्द्र कट्टेल - १२ भदौ, काठमाडौं । नेपालमार्ग हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना पाकिस्तानी आतंकवादी भारतको बिहार प्रवेश गरेको दाबीपछि त्यहाँको सुरक्षाप्रणालीमा उच्च सतर्कता अपनाइएको छ।

भारतीय मिडियाहरुका अनुसार भारत प्रवेश गर्ने तीन जना आतंकवादीको परिचय हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान भएको पुष्टि भएको छ। उनीहरु पाकिस्तानका नागरिक रहेको र नेपाल–भारत सीमाबाट बिहार पसेको सूचनापछि सुरक्षाकर्मीहरु तैनाथ गरिएको बताइएको छ।

भारतको प्रहरी मुख्यालयले सबै प्रहरी युनिटलाई हाई अलर्टमा राखेको छ भने गुप्तचर निकायहरुलाई पनि परिचालन गरिएको छ। उनीहरुको हुलिया र परिचय विवरण सबै प्रहरी युनिटमा पठाइएको छ र सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ।

विशेषगरी बिहारका सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौल क्षेत्रमा सुरक्षा झन् कडा पारिएको छ। स्थानीयलाई समेत कुनै शंकास्पद गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

सन् २०२४ मा पनि नेपाल हुँदै भारत पस्ने क्रममा तीन जना आतंकवादीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो। त्यस घटनापछि पुनः नेपालमार्ग हुँदै आतंकवादी प्रवेशको समाचार बाहिरिएसँगै भारतमा सुरक्षा संयन्त्र सक्रिय बनेको छ।

प्रतिक्रिया