प्रथम विश्वयुद्धको अन्त्य गर्ने ऐतिहासिक सन्धिको साक्षी बनेको फ्रान्सको भर्साइल्स दरबार फेरि एकपटक विश्व इतिहासको नयाँ अध्याय लेख्ने थलो बनेको छ। जी-७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियानले दशकौँ लामो कटुता र हालैको युद्धलाई अन्त्य गर्दै एक प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको यो सम्झौता केवल युद्धविराम मात्र होइन, यसले मध्यपूर्वको भू-राजनीति र विश्व अर्थतन्त्रमै उथलपुथल ल्याउने सामर्थ्य राख्छ। तत्काल सैन्य कारबाही रोक्ने, प्रतिबन्धहरू फुकुवा गर्ने र ६० दिनभित्र दीर्घकालीन सम्झौताको खाका कोर्ने यो 'मास्टरप्लान'ले विश्वभर तरङ्ग पैदा गरेको छ।
आखिर अमेरिका र इरानलाई एउटै टेबलमा ल्याउने उक्त प्रारम्भिक समझदारीपत्रका १४ शक्तिशाली बुँदाहरूमा के छ? हेरौं विस्तृत रूपमा:
१. बन्दुकको साटो शान्तिको शंखघोष
युद्धको पूर्ण अन्त्य: हस्ताक्षरसँगै लेबननसहित सबै मोर्चामा अमेरिका, इरान र उनीहरूका सहयोगीहरूबाट हुने सैन्य कारबाही तत्काल र स्थायी रूपमा रोकिनेछ। अब एकअर्काविरुद्ध नयाँ युद्ध वा बल प्रयोगको धम्की पूर्ण रूपमा निषेध गरिएको छ।
आन्तरिक मामिलामा अहस्तक्षेप: दुवै महाशक्तिले एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप नगर्ने कडा प्रतिबद्धता जनाएका छन्।
हालको अवस्था (Status Quo) कायम: अन्तिम सम्झौता नहुँदासम्म इरानले आफ्नो आणविक कार्यक्रमको वर्तमान अवस्था कायमै राख्नेछ भने अमेरिकाले कुनै नयाँ प्रतिबन्ध वा सैन्य परिचालन गर्ने छैन।
२. विश्व अर्थतन्त्रको धमनी सुचारु
अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य: अमेरिकाले इरानविरुद्ध लगाएको सम्पूर्ण नौसैनिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा हटाउनेछ। व्यापारिक जहाजहरूको आवतजावत युद्धअघिकै स्तरमा पुर्याइनेछ र ३० दिनभित्रै इरान नजिकका अमेरिकी सेना फिर्ता हुनेछन्।
स्ट्रेट अफ हर्मुज खुल्ने: विश्वको तेल आपूर्तिको मुटु मानिने 'स्ट्रेट अफ हर्मुज'लाई इरानले सुरक्षित रूपमा खुला गर्नेछ। विस्फोटक पदार्थ पन्छाएर ३० दिनभित्र पूर्ण सञ्चालनमा ल्याइने यो जलमार्ग आगामी ६० दिनसम्म निःशुल्क प्रयोग गर्न पाइनेछ।
इरानी तेलको विश्व बजारमा पुनरागमन: अमेरिकाले इरानी कच्चा तेल र पेट्रोलियम उत्पादन निर्यातका लागि तत्कालै 'वेभर' (छुट) दिनेछ। यसले गर्दा बैंकिङ कारोबार, बीमा र ढुवानी सेवा सुचारु हुनेछन्।
३. इरानको काँचुली फेर्ने आर्थिक क्रान्ति
३०० अर्ब डलरको पुनर्निर्माण योजना: यो सम्झौताको सबैभन्दा आश्चर्यजनक पक्ष भनेको अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलरको विशाल योजना अघि बढाउनु हो।
रोक्का सम्पत्ति फुकुवा: वर्षौंदेखि अमेरिका र विश्वका विभिन्न बैंकमा रोक्का रहेको इरानको अर्बौं डलरको सम्पत्ति फुकुवा हुनेछ। उक्त रकम इरानको केन्द्रीय बैंकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न पाउनेछ।
सम्पूर्ण प्रतिबन्धहरूको अन्त्य: अमेरिकाले एकपक्षीय रूपमा लगाएका प्रतिबन्धका साथै राष्ट्रसंघीय सुरक्षा परिषद् र आईएईए बोर्डका निर्णयहरू समेत खारेज गर्ने प्रतिबद्धता जनाएको छ।
४. आणविक त्रासको अन्त्य र आगामी बाटो
आणविक हतियार नबनाउने वाचा: इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ। प्रशोधित युरेनियमको भण्डारणलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा व्यवस्थापन गरिनेछ।
६० दिनको 'डेडलाइन': यो प्रारम्भिक सम्झौता हो। दुवै देशले अधिकतम ६० दिनभित्र सबै विषय टुंग्याएर 'अन्तिम सम्झौता' गर्ने लक्ष्य राखेका छन्।
निगरानी र कार्यान्वयन संयन्त्र: यो सम्झौता कागजमा मात्र सीमित नहोस् भन्नका लागि संयुक्त निगरानी संयन्त्र स्थापना गरिनेछ। युद्ध रोक्ने र जलमार्ग खुलाउने लगायतका मुख्य ५ बुँदा कार्यान्वयन भएपछि मात्र बाँकी विषयमा सघन वार्ता सुरु हुनेछ।
राष्ट्रसंघको छाप: ६० दिनभित्र बन्ने अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाटै अनुमोदन गराएर कानुनी रूपमा बाध्यकारी बनाइनेछ।
अबको बाटो:
यो अन्तरिम सम्झौताले तत्कालका लागि तेस्रो विश्वयुद्धको कालो बादललाई हटाएको छ। तेलको आपूर्ति सुचारु हुने र हर्मुज जलमार्ग खुल्ने ग्यारेन्टीले विश्व बजारले राहतको सास फेरेको छ। तर, इरानको आणविक कार्यक्रमको दीर्घकालीन व्यवस्थापन र प्रतिबन्ध फुकुवाको जटिल प्रक्रिया आगामी ६० दिनको सघन वार्तामा निर्भर हुनेछ। भर्साइल्सबाट सुरु भएको यो शान्ति यात्राले गन्तव्य चुम्छ या फेरि मध्यपूर्वको बालुवामा बिलाउँछ, त्यो भने आगामी दुई महिनाले तय गर्नेछ।