लिमी लाप्चामा चिनियाँ गतिविधि तीव्र : नेपाली भू–भागमै सुरक्षाकर्मीको उपस्थिति पुष्टि

ecopolinews.com

११ कात्तिक, हुम्ला । नेपालको सुदूर उत्तरको लिमी लाप्चा क्षेत्रमा पछिल्लो समय चिनियाँ सुरक्षाकर्मीको सक्रियता बढ्दै गएको पुष्टि भएको छ। स्थानीयवासीका अनुसार नेपाली भू–भागमै चिनियाँ सुरक्षाकर्मीले अनुगमन, माइकिङ र आवतजावतमा अवरोध गर्न थालेका छन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टेककुमार रेग्मीले पनि सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको भौतिक उपस्थिति देखिएको पुष्टि गर्दै भने, “त्यो खुला क्षेत्र हो, जहाँ परम्परागत रूपमा नेपालीहरू कैलाश–मानसरोवरको दर्शन गर्न जाने गर्छन्। अहिले चिनियाँ सुरक्षाकर्मीले रोक्न खोजेपछि विवाद उत्पन्न भएको हो।”

स्थानीयको गुनासो : ‘हामी आफ्नै भूमिमा थियौं, रोक लगाए’

गत असोज ११ गते सिमकोटबाट मानसरोवर–कैलाश दर्शनका लागि गएका करिब दुई दर्जन तीर्थयात्रीलाई लिमी लाप्चा नजिकै सादा पोशाकमा रहेका चिनियाँ सुरक्षाकर्मीले अघि बढ्न माइकिङ गर्दै रोक लगाएको स्थानीय अविनाश लामाले बताएका छन्।

उनका अनुसार, “हामी आफ्नै नेपाली भूमिमा थियौं, तर उनीहरूले माइकिङ गर्दै फर्किन भने।”

सिमकोट–६ का राजु रावतले पनि चिनियाँ पक्षको अवरोधका कारण धेरै यात्रु दर्शन नै नगरी फर्किनु परेको बताए। “आग्रह गरेर बल्ल दुई/दुई जनाका दरले दर्शन गर्न अनुमति पाइयो,” उनले भने।

स्थानीय नेतृत्व र प्रशासनको धारणा

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले चिनियाँ पक्षले नेपाली भूमि लिमी लाप्चामा तीर्थयात्रीहरूको प्रवेश रोक्नु गम्भीर विषय भएको जनाउँदै कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

त्यस्तै, सीडीओ रेग्मीले भारतका आध्यात्मिक गुरु सदगुरु जग्गी वासुदेव पनि केही हप्ता अघि सो क्षेत्रमा पुगेपछि चहलपहल बढेको र त्यससँगै चिनियाँ पक्षको निगरानी पनि बढेको बताए।

“हामीले गृह मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं,” उनले भने, “पुरानो सन्धि र सम्झौता अनुसार सीमा रेखा पुनः स्पष्ट गर्नुपर्ने देखिन्छ।”

संयुक्त गस्तीको तयारी

सशस्त्र प्रहरीले सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीसँग संयुक्त सुरक्षा गस्ती सुरु गर्न पहल गरिरहेको बताइएको छ। रेग्मीका अनुसार, चिनियाँ पक्षबाट पनि यसमा सकारात्मक संकेत आएको छ।

लिमी लाप्चाको पृष्ठभूमि

लिमी लाप्चा, हुम्लाको नाम्खा गाउँपालिका–६ मा अवस्थित, नेपालको उत्तरतर्फको एक संवेदनशील सीमाक्षेत्र हो। भौगोलिक रूपमा यहाँबाट कैलाश–मानसरोवर स्पष्ट देखिने भएकाले यो ठाउँलाई नेपाली तीर्थयात्रीहरूको प्रमुख दर्शनस्थलका रूपमा लिइन्छ।

तर पछिल्ला वर्षहरूमा चीनले यो क्षेत्रमा आफ्नो निगरानी कडाइ गर्दै तीर्थयात्रीहरूको आवागमनमा अवरोध गर्दै आएको देखिन्छ।

नेपाल र चीनबीच सन् १९६० देखि १९६३ सम्म सीमांकन र प्रोटोकल सम्झौता भएको भए पनि, लिमी लाप्चा जस्ता केही क्षेत्रहरू अझै अस्पष्ट सीमांकनका कारण विवादास्पद बनेका छन्।

इतिहास अनुसार, सीमांकनका क्रममा नेपालको २,१३९ वर्गकिलोमिटर भू–भाग चीनबाट नेपालतर्फ र १,८३६ वर्गकिलोमिटर भू–भाग नेपालबाट चीनतर्फ गएको थियो।

नेपाल–चीन सीमाको अस्पष्टता फेरि एकपटक विवादको केन्द्रमा आएको छ। नेपाली भू–भागमै चिनियाँ सुरक्षाकर्मीको गतिविधि देखिनु राष्ट्रको सीमा सुरक्षा र सम्प्रभुताको सवाल बनेको छ।

स्थानीयवासीको गुनासो र प्रशासनिक पुष्टि पछि अब यस विषयमा कूटनीतिक तहमा स्पष्ट पहल आवश्यक देखिन्छ।

प्रतिक्रिया