ढाका, फेब्रुअरी १० — पूर्व प्रधानमन्त्री शेख हसिनाको पतनपछि बङ्गलादेशमा चीनको राजनीतिक, आर्थिक र रणनीतिक प्रभाव उल्लेखनीय रूपमा बढ्ने संकेत देखिएको छ। भारतसँग नजिक मानिने हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएसँगै ढाका–दिल्ली सम्बन्ध कमजोर बनेको हो।
बङ्गलादेशमा फेब्रुअरी १२ मा निर्वाचन हुँदैछ। सत्ताका प्रमुख दाबेदार दुवै दलहरूको भारतसँगको सम्बन्ध विगतमा हसिनाको जस्तो निकट रहँदै आएको थिएन। सन् २००९ देखि निरन्तर सत्तामा रहेकी हसिनाको अवामी लिग अहिले प्रतिबन्धित छ र उनी नयाँ दिल्लीमा स्व-निर्वासनमा छिन्।
यही राजनीतिक रिक्ततालाई उपयोग गर्दै चीनले ढाकामा आफ्नो कूटनीतिक सक्रियता र लगानी तीव्र बनाएको छ। हालै चीनले भारतको सीमासँग नजिक ड्रोन कारखाना स्थापना गर्ने रक्षा सम्झौता गरेपछि दक्षिण एसियाको रणनीतिक समीकरण थप संवेदनशील बनेको छ।
बङ्गलादेशका लागि चिनियाँ राजदूत याओ वेन पछिल्लो समय राजनीतिज्ञ, उच्च अधिकारी र सञ्चारकर्मीहरूसँग निरन्तर भेटघाटमा सक्रिय देखिन्छन्। चिनियाँ दूतावासका अनुसार उनले अर्बौँ डलरका पूर्वाधार परियोजना र द्विपक्षीय सहकार्यबारे छलफल गर्दै आएका छन्।
हसिनाको पतनपछि बङ्गलादेशमा भारतविरुद्ध जनभावना कडा बनेको देखिन्छ।
बीएनपीका अध्यक्ष तथा सम्भावित प्रधानमन्त्री तारिक रहमानका परराष्ट्र सल्लाहकार हुमायुन कोबिर भन्छन्,
“बङ्गलादेशी जनताले शेख हसिनाका अपराधमा भारतको संलग्नता देख्छन्। जनताले यस्तो देशसँग न त सम्बन्ध गहिरो बनाउन चाहन्छन्, न व्यापार।”
तर तारिक रहमान स्वयं भने सन्तुलित कूटनीतिक नीति अपनाउने पक्षमा देखिन्छन्।
उनले भनेका छन्, “हामी सबै देशसँग मित्रता चाहन्छौँ, तर आफ्ना जनता र राष्ट्रिय हित सधैं पहिलो स्थानमा हुन्छ।”
हालैका दिनहरूमा ढाका–दिल्ली सम्बन्ध खेलकुद कूटनीतिसम्म बिग्रिएको छ। बङ्गलादेशी अलराउन्डरलाई हिन्दू समूहहरूको दबाबपछि एक आईपीएल टोलीबाट हटाइएपछि बङ्गलादेशले आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको छ।
त्यसैगरी, बङ्गलादेशले फेब्रुअरी–मार्चमा हुने पुरुष क्रिकेट विश्वकपका आफ्ना खेलहरू भारतबाहिर सार्न आग्रह गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले अस्वीकार गरेपछि बङ्गलादेश प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
दुवै देशले एक-अर्कालाई दिने भिसा संख्या घटाएका छन्, र उच्चस्तरीय कूटनीतिक भेटघाटहरू पनि न्यून बनेका छन्। यद्यपि भारतीय विदेश मन्त्री एस. जयशंकरले गत डिसेम्बरमा ढाकामा तारिक रहमानसँग भेट गरी उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनप्रति समवेदना व्यक्त गरेका थिए।
उता, बङ्गलादेशको अन्तरिम सरकारले भारतसँग शेख हसिनाको सुपुर्दगी बारम्बार माग्दै आएको छ। गत वर्ष ढाकाको अदालतले जनआन्दोलन दमनको आदेश दिएको आरोपमा हसिनालाई मृत्युदण्ड सुनाएको थियो। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार सो दमनमा करिब १,४०० जनाको मृत्यु भएको अनुमान छ, जसलाई हसिनाले अस्वीकार गरेकी छन्।
विश्लेषकहरूका अनुसार, चीनको प्रभाव बढ्दै गए पनि भौगोलिक, आर्थिक र सांस्कृतिक कारणले भारतलाई पूर्ण रूपमा अलग राख्न बङ्गलादेशका लागि सम्भव छैन। हसिनापछिको युगमा ढाकाले चीन र भारतबीच सन्तुलन कायम गर्दै अघि बढ्ने रणनीति अपनाउने सम्भावना उच्च देखिन्छ।