“मेरो भविष्यवाणी मिल्यो” — शिक्षामन्त्री महावीर पुनले पुरानो स्टाटस सेयर गर्दै तत्कालीन ऊर्जामन्त्रीमाथि व्यङ्ग्य

ecopolinews.com

काठमाडौँ, असोज ३१ —शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूले पाँच महिनाअघि फेसबुकमा लेखेको एक पोस्ट सेयर गर्दै आफ्नो ‘भविष्यवाणी मिलेको’ दाबी गरेका छन्। उनले तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको प्रसंग जोड्दै, जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढाल्नु आफ्नै भनाइसँग मेल खाएको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाउँदा पुनले खड्कामाथि कडा आलोचना गर्दै फेसबुकमा लेखेका थिए — “त्यस्तो ऊर्जामन्त्रीलाई जनआन्दोलनमार्फत हटाउनुपर्छ।”

संयोगवश, जेनजी आन्दोलनका कारण ओली सरकार ढलेपछि बनेको अन्तरिम मन्त्रिमण्डलमा पुन स्वयं शिक्षामन्त्री बनेका छन्। यही प्रसंग सम्झिँदै उनले बिहीबार आफ्नो पुरानो पोस्ट पुनः सेयर गर्दै लेखेका छन्—

“म भविष्यवाणी गर्ने ज्योतिषी त होइन तर मैले भनेका धेरै कुरा मिल्छन्। यो स्टाटस जेनजी आन्दोलन सुरु हुनुभन्दा १४० दिनअगाडि, जेठ ७ गते (मे २१) मा लेखेको थिएँ। नभन्दै त्यो फटाहा ऊर्जामन्त्रीलाई लखेट्न र भ्रष्ट सरकारलाई हटाउन आन्दोलन भयो। मेरो भविष्यवाणी ठ्याक्कै मिल्यो।”

पुनले थप्दै लेखेका छन्—

“यति भएपछि त म पनि भविष्यवाणी गर्ने ज्योतिषीजस्तै भएँ। अरू पनि भविष्यवाणीहरू छन्, भन्दै गरुँला।”

पुनको यो व्यङ्ग्यात्मक टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनका समर्थकहरूले यसलाई “आन्दोलनको सत्यापन” भन्दै प्रशंसा गरेका छन् भने केहीले मन्त्रीको अभिव्यक्तिलाई “राजनीतिक आत्मसन्तुष्टि” को रूपमा पनि लिएका छन्। 

महावीर पुन हाल अन्तरिम सरकारले शिक्षामन्त्रीका रूपमा कार्यरत छन्। उनी सामाजिक अभियन्ता तथा आविष्कार केन्द्रका संस्थापकका रूपमा पनि परिचित छन्।

प्रतिक्रिया