काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्च पदस्थ अधिकारीलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय गरेको छ।
आयोगले आइतबार ओली, लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का गरी उनीहरूले आयोगको अनुमति बिना उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाएको छ।
आयोग सदस्य विज्ञानराज शर्माका अनुसार दसैँ बिदा सकिएलगत्तै उनीहरूसँग बयान लिने प्रक्रिया अघि बढाइनेछ।
जेनजी आन्दोलनको पहिलो दिन सरकारी दमनबाट १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने दोस्रो दिन तोडफोड, आगजनी र लुटपाटमा ७४ जनाले ज्यान गुमाएका थिए।
यसबीच, ओली नेतृत्वको नेकपा एमालेले राहदानी रोक्का गर्ने निर्णयलाई राजनीतिक प्रतिशोध भन्दै आपत्ति जनाएको छ।