ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अब आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीमा पुगेका छन्। उनले हालसम्म विभिन्न विकल्पहरूबारे छलफल गरेपछि अन्ततः आफैं अध्यक्ष भएर नयाँ पार्टी बनाउने निष्कर्ष निकालेका छन्।
उनका नजिकका स्रोतका अनुसार, केही दिनअघि मात्र कुलमानले कसैको नाममा पार्टी दर्ता गरेर पछि आफू अगाडि आउने विचार राखेका थिए। तर पछिल्ला छलफल र सल्लाहपछि जनताले चिनेको अनुहारबाटै नयाँ राजनीतिक यात्रा सुरु गर्नु उचित ठानेर उनले आफैं पार्टीको नेतृत्व गर्न निर्णय लिएका हुन्।
स्रोतका अनुसार, पार्टी दर्ता कात्तिक १९ गते (बुधबार) हुने तयारी भइरहेको छ। पार्टीको नामबारे अन्तिम टुंगो लाग्न बाँकी छ तर ‘उज्यालो नेपाल’ र ‘नेपाल विकास दल’ बीचमा छलफल चलिरहेको छ। घिसिङ स्वयं ‘उज्यालो नेपाल’ नाम र चुनाव चिन्ह ‘बिजुलीको चिम’प्रति सकारात्मक देखिएका छन्।
घिसिङसँग मिलेर नयाँ दल खोल्ने तयारीमा रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, इन्जिनियर सागर ढकाल, हामी नेपालका संस्थापक सुदन गुरूङ, जेनजी युवाहरू प्रवेश दाहाल र सबल गौतमलगायत छन्। यी सबैलाई प्रारम्भिक चरणमा केन्द्रीय सदस्यका रूपमा राख्ने तयारी भइरहेको बताइएको छ।
तर सुदन गुरूङले सामाजिक सञ्जालमार्फत आफूलाई नसोधी समाचार लेखिएको भन्दै असन्तुष्टि जनाएका छन्।
कुलमान र काठमाडौंका मेयर बालेन शाहबीच लामो समयदेखि संयुक्त पार्टी गठनको प्रयास भए पनि त्यो सम्भव हुन सकेन। कुनै समय उनीहरूबीच एकले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्नेसम्म कुरा भएको थियो। तर बालेनले दलगत राजनीतिमा प्रत्यक्ष संलग्न हुन चासो नदेखाएपछि सहकार्यको प्रयास निष्फल भएको स्रोतको भनाइ छ।
हालका गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौं महानगरको कानुनी सल्लाहकार रहेका बेला पनि बालेन र कुलमानबीच पार्टी खोल्नेबारे छलफल भएको थियो। तर बालेनले अन्तिम निर्णय कहिल्यै नलिएपछि कुलमान आफैं अगाडि सर्ने मनस्थितिमा पुगेका हुन्।
स्रोतका अनुसार, बालेनले नयाँ पार्टीमा प्रत्यक्ष सहभागी नहुने भए पनि बाहिरबाट समर्थन गर्न सक्ने सम्भावना छ। तर कुलमान नजिकका नेताहरूले बालेनको समर्थन कति ठोस हुनेछ भन्नेबारे निश्चित भन्न सकेका छैनन्।
छलफलमा संलग्न एक सदस्यका अनुसार, कुलमानले पार्टी नेतृत्व आफैंले गर्नुपर्ने कारण यसरी व्याख्या गरेका छन्– “पार्टी खोल्दा नै जनताले विश्वास गर्ने अनुहार नहुने हो भने त्यसलाई अगाडि बढाउन सजिलो हुँदैन।”
यसै कारण उनले अब ढिलाइ नगरी आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति गठन गर्ने अन्तिम तयारी थालेका हुन्। यदि सबै प्रक्रिया तय भए अनुसार अघि बढ्यो भने कात्तिक १९ गते ‘उज्यालो नेपाल’ नामक नयाँ पार्टी दर्ता हुने र त्यसले मुलुकमा नयाँ राजनीतिक विकल्पको सुरुवात गर्ने देखिएको छ।