रविन्द्र कट्टेल - धादिङ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको अवस्था बुझ्न र तत्काल राहत तथा उद्धारका लागि आवश्यक पहल गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश धमला, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइराला तथा धादिङ तरुण दल जिल्ला अध्यक्ष शंकर धमला नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको छ।
टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढी तथा पहिरोका कारण भएको जनधन र भौतिक क्षतिको विवरण संकलन गरेको छ। स्थलगत अवस्थाको प्रत्यक्ष जानकारी लिएर पीडित नागरिकका तत्कालीन आवश्यकता पहिचान गर्ने तथा राहत र पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने उद्देश्यले निरीक्षण गरिएको हो।
निरीक्षणका क्रममा अवरुद्ध पृथ्वीराजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउन भइरहेको प्रयासबारे समेत टोलीले जानकारी लिएको छ। राजमार्ग अवरुद्ध हुँदा आवागमन, राहत सामग्री ढुवानी तथा दैनिक जनजीवन प्रभावित बनेकाले सडक सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको छ।
टोलीले गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, वडा नं. ६ का अध्यक्ष दीपक कार्की लगायत स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालासँग प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको थियो। स्थानीय जनप्रतिनिधि तथा नागरिकसँगको छलफलबाट बाढीपहिरोले पुर्याएको क्षति, राहतको अवस्था र आगामी आवश्यकताबारे जानकारी संकलन गरिएको हो।
यसै क्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाको उपस्थितिमा गल्छी गाउँपालिकाका बाढीपीडित नागरिकलाई पाल तथा खाद्यान्न वितरण गरिएको छ। विपद्को कठिन घडीमा अस्थायी आश्रय र दैनिक जीवनका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउँदै तरुण दलले पीडित परिवारलाई तत्काल राहत पुर्याउने प्रयास गरेको हो।
राहत वितरणसँगै प्रभावित नागरिकको आवश्यकता तत्काल सम्बोधन गर्न उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। तत्काल आवश्यकताका आधारमा थप राहत तथा सहयोग जुटाउन सम्बन्धित निकाय, स्थानीय तह र सरोकारवालासँग निरन्तर समन्वय गर्ने निर्णयसमेत गरिएको छ।
विपद्को समयमा केवल राहत सामग्री वितरण गरेर मात्र आफ्नो दायित्व पूरा नहुने भन्दै प्रभावित नागरिकको वास्तविक अवस्था बुझेर दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्नुपर्नेमा टोलीले जोड दिएको छ।
बाढीपहिरोले संकटमा पारेका नागरिकका बीचमै पुगेर उनीहरूको पीडा सुन्ने, क्षतिको वास्तविक अवस्था बुझ्ने र आवश्यक सहयोग जुटाउने अभियानले विपद्मा राजनीतिक संगठनको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।
पीडितको घरदैलोमा राहत, संकटमा साथ—तरुण दलको प्रतिबद्धता: विपद्मा जनता एक्लै छैनन्।