काठमाडौँ, असोज ५ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसहित तीन नयाँ नाम राष्ट्रपति कार्यालयमा पठाएको छ। स्रोतका अनुसार मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार जगदीश खरेल र वैज्ञानिक महावीर पुन मन्त्रीका लागि सिफारिस भएका छन्।
अन्सारीले कुन मन्त्रालय सम्हाल्ने भन्ने खुलेको छैन भने खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दिइने तय भएको छ। उनीहरूको नियुक्ति र शपथ आजै शीतल निवासमा हुने तयारी छ।
यसअघि कार्की सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री भइसकेका छन्। खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास र अर्यालले गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ११ जनाभन्दा बढी नहुने स्पष्ट गरिसकेकी छिन्।