समाज शुद्धीकरणको महाअभियान: गृहमन्त्रीकै प्रत्यक्ष कमाण्डमा ठोरीका होटलमा 'सर्च अपरेसन', अपराधमुक्त समाज निर्माणको ऐतिहासिक शंखघोष

ecopolinews.com
रविन्द्र कट्टेल - स्थानीयको सूचनालाई आधार मान्दै रातिको समयमा आफैं फिल्डमा उत्रिएर गृहमन्त्रीले दिए कडा सन्देश– ‘सभ्य र अपराध रहित समाज नै हाम्रो पहिचान हो’, कालोबजारी र तस्करीमाथि पनि निर्मम प्रहार हुने स्वकीय सचिव जेम्स कार्कीको चेतावनी ।
देशको आन्तरिक सुरक्षा र सुशासनको नेतृत्व सम्हालेका गृहमन्त्री आफैं समाजमा जरा गाडेर बसेका बेथिति र अनैतिक गतिविधि निर्मूल पार्न सडकदेखि गल्लीसम्म उत्रिएका छन्। पर्साबाट चितवनतर्फ जाने क्रममा पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजारमा स्थानीय नागरिकसँगको छोटो तर अर्थपूर्ण भेटघाटले एउटा शक्तिशाली 'एक्सन'को रूप लियो। स्थानीय नागरिकले आफ्नो गाउँठाउँमा भइरहेका अनैतिक क्रियाकलापको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले कुनै औपचारिक आदेशको पर्खाइमा समय खेर फालेनन्। उनले तत्कालै सुरक्षाकर्मीको टोली लिएर राति ७:४० बजे ठोरी बजारमा सञ्चालित ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’मा प्रत्यक्ष रूपमा छापा मारे।
गृहमन्त्रीको यो अप्रत्याशित र साहसिक कदमले समाजमा छाडापन र अनैतिक व्यापार चलाएर बसेकाहरूमाझ ठूलो भूकम्प ल्याइदिएको छ। उक्त 'सर्च अपरेसन'मा सशस्त्र प्रहरीको नं. १३ गणका गणपति एसपी, बोर्डर आउट पोस्ट (बीओपी) ठोरीका इन्सपेक्टर र नेपाल प्रहरीको संयुक्त टोली परिचालित थियो। अनैतिक क्रियाकलाप सञ्चालन गरेको दाबीसहित होटल सञ्चालक, स्टाफ र त्यहाँ भेटिएका गेस्टसहित ९ जनालाई रङ्गेहात पक्राउ गरी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ। पक्राउ पर्नेमा दुई जना होटल सञ्चालक र सात जना युवती रहेको तथ्यले समाजभित्र भित्रभित्रै कसरी विकृतिको जालो फैलिइरहेको छ भन्ने गम्भीर यथार्थलाई उजागर गरेको छ।
गृहमन्त्री ज्यूको यो कदम केवल दुईवटा होटलमा गरिएको छापा मात्र होइन, यो समग्र राष्ट्रको नैतिक धरातललाई बलियो बनाउने एउटा ऐतिहासिक शंखघोष हो। अनैतिक र गैरकानुनी गतिविधिले समाजको जगलाई धमिराले झैं खोक्रो बनाइरहेको हुन्छ। यस्ता क्रियाकलापले युवा पुस्तालाई पथभ्रष्ट बनाउने, पारिवारिक विखण्डन ल्याउने र अन्ततः संगठित अपराधलाई प्रश्रय दिने गर्दछन्। समाजमा मौलाउँदै गएको यस्तो सांस्कृतिक र नैतिक विचलनले सिंगो देशको भविष्यलाई नै अन्धकारतर्फ धकेलिरहेको सन्दर्भमा गृहमन्त्री आफैं अग्रमोर्चामा उभिनुले आम नागरिकमा राज्यको उपस्थिति र न्यायको गहिरो अनुभूति गराएको छ।
"सभ्य र अपराध रहित समाज नै हाम्रो पहिचान हो" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गृहमन्त्री गुरुङले चालेको यो कदमको जति उच्च मूल्याङ्कन गरे पनि कमै हुन्छ। उहाँले यो कारबाहीमार्फत समाजका सम्पूर्ण बेथिति, विकृति र विसंगतिका विरुद्ध सम्पूर्ण नागरिकलाई एकताबद्ध हुन आह्वान समेत गर्नुभएको छ। जबसम्म आम नागरिक र राज्य संयन्त्र काँधमा काँध मिलाएर अपराधको विरुद्धमा उभिँदैनन्, तबसम्म समाजले काँचुली फेर्न सक्दैन भन्ने उहाँको स्पष्ट मान्यता यस घटनाले प्रमाणित गरेको छ।
गृहमन्त्रीको यो 'एक्सन ओरिएन्टेड' शैलीले अब कुनै पनि प्रकारका गैरकानुनी धन्दा चलाउनेहरूलाई राज्यले छुट दिने छैन भन्ने स्पष्ट सन्देश दिएको छ। यसै सन्दर्भमा, गृहमन्त्री ज्यूका स्वकीय सचिव जेम्स कार्कीले पनि यो अभियान अनैतिक गतिविधि नियन्त्रणमा मात्र सीमित नहुने प्रष्ट पार्नुभएको छ। कार्कीका अनुसार, देशको अर्थतन्त्रलाई खोक्रो बनाउने कालोबजारी, सीमा नाकामा हुने तस्करी र जस्तोसुकै आवरणमा लुकेका माफियाहरूमाथि अब निर्मम प्रहार हुनेछ। राज्य संयन्त्रको आँखा छलेर रातारात धनी बन्ने सपना देख्ने तस्कर र कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउन गृह मन्त्रालयले 'जिरो टोलरेन्स' (शून्य सहनशीलता) को नीति अख्तियार गरेको उहाँले स्पष्ट पार्नुभएको छ। अबका दिनमा हरेक नागरिकले सुरक्षित महसुस गर्ने र अपराधीहरूले राज्यको कानुनसँग डराउनुपर्ने अवस्था सिर्जना गर्न मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको कार्कीको धारणा छ।
अन्ततः, नेतृत्वले चाहेमा समाजलाई कुन हदसम्म सही बाटोमा ल्याउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण यो घटना बनेको छ। कागजमा लेखिएका कानुनहरूलाई व्यवहारमा उतार्न गृहमन्त्री ज्यूले देखाउनुभएको यो अठोट र सक्रियता सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत हो। यसले आम जनतामा गुमेको विश्वासलाई पुनर्जागृत गरेको छ भने कानुन हातमा लिनेहरूका लागि यो एउटा कडा चेतावनी हो। समाजलाई दूषित पार्ने कुनै पनि प्रकारका गतिविधि, कालोबजारी वा तस्करीविरुद्ध राज्यको यो कठोर कदम निरन्तर अघि बढ्नेछ र एउटा सभ्य, सुसंस्कृत तथा अपराधमुक्त नेपाल निर्माणको महाअभियान अब कसैले रोकेर रोकिने छैन।

प्रतिक्रिया