गृहमन्त्री सुदन गुरुङको ‘नयाँ मानक’: तामझामको सलामीभन्दा जनताको साथ र राष्ट्रसेवकको सम्मानलाई प्राथमिकता

ecopolinews.com

सुजन चिलुवाल - काठमाडौँ: मुलुकको शान्ति सुरक्षा र सुशासनको जिम्मेवारी सम्हालेका गृहमन्त्री सुदन गुरुङले परम्परागत राजनीतिक तामझाम र सुरक्षा निकायमा व्याप्त 'हाकिमवादी' संस्कारलाई चुनौती दिँदै नयाँ वैचारिक मानक स्थापित गर्नुभएको छ। "पिरके सलामीको उचाइभन्दा हातको साथ ठूलो हुन्छ" भन्ने मर्मस्पर्शी उद्घोषका साथ उहाँले पदभार ग्रहण गरेदेखि नै देखाउँदै आउनुभएको सादगीपूर्ण व्यवहारले यतिबेला प्रशासनिक र राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। मन्त्री गुरुङले राज्यको वास्तविक शक्ति सुरक्षाकर्मीको कठोर सलामीमा नभई उनीहरूको उच्च मनोबल र नागरिकसँगको सहकार्यमा रहने प्रष्ट पार्नुभएको छ।

जहाँ राष्ट्रसेवकको वास्तविक कदर र सम्मान हुन्छ, त्यहीँ राज्यको वास्तविक शान र मान कायम हुने विश्वास राख्ने मन्त्री गुरुङले भड्किलो स्वागत र औपचारिक तामझामलाई पूर्णतया तिरस्कार गर्नुभएको छ। उहाँको यो कदमले दशकौँदेखि नेपाली राजनीतिमा जकडिएको सामन्ती संस्कारको अवशेष मानिने 'पिर्के सलामी' को सट्टा जनताको 'हातको साथ' र सामीप्यलाई राष्ट्रिय गौरवको विषय बनाएको छ। राज्यका अंगहरूलाई अनुशासित तर सम्मानित बनाउने उहाँको यो प्रतिबद्धताले सुशासनको नयाँ यात्रा सुरु भएको सन्देश मात्र दिएको छैन, आम नागरिकमा नेतृत्वप्रति हराउँदै गएको विश्वासलाई समेत पुनः जागृत गराएको छ। राष्ट्र र राष्ट्रसेवकलाई केन्द्रमा राखेर गरिएको उहाँको यो आह्वानले सभ्य र समृद्ध नेपाल निर्माणको जग बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया