राजधानीको सुरक्षा बागडोर: काठमाडौं प्रहरी प्रमुखको दौडमा 'कमान्डर' ज्ञवाली र 'इन्भेस्टिगेटर' केसी बीच तीव्र भिडन्त, इन्काउन्टरदेखि ऐतिहासिक चुनावसम्म ज्ञवालीको 'ट्र्याक रेकर्ड'ले थप्यो रोमाञ्चकता

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाण्डौ।संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापन सधैं चुनौतीपूर्ण र संवेदनशील रहने गर्दछ। यसैकारण, एसएसपीले कमान्ड गर्ने अन्य युनिट र कार्यालयहरूभन्दा काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हाल्न योग्य प्रहरी अधिकारीहरूबीच सधैं तीव्र प्रतिस्पर्धा हुने गर्छ। यतिबेला प्रहरी वृत्त र सञ्चारमाध्यममा एउटै चासोको विषय बनेको छ- अब काठमाडौं प्रहरी प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी कसको काँधमा आउला ? काठमाडौं प्रहरी प्रमुखको दौडमा हाल एसएसपीहरू दयानिधि ज्ञवाली, अजय केसी, प्रविण धिताल, सुवास बोहरा र सुरेश काफ्लेको नाम चर्चाको शिखरमा छ। एसपीबाट एसएसपीमा बढुवा भएपछि हालसम्म कुनै पनि कार्यालयको कमान्ड नपाएका यी अनुहारहरूमध्ये काठमाडौंका लागि मुख्य प्रतिस्पर्धामा भने दुई नाम, एसएसपी दयानिधि ज्ञवाली र एसएसपी अजय केसी सबैभन्दा अगाडि देखिएका छन्।

प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहेका एसएसपी अजय केसीलाई 'अनुसन्धान र विश्लेषण' (Investigation and Analysis) मा गहिरो दख्खल राख्ने अधिकारीका रूपमा चिनिन्छ। वर्तमान समयमा अपराधको प्रकृति बदलिएको छ; डिजिटल र संगठित अपराधले राजधानीलाई चुनौती दिइरहेको बेला गम्भीर प्रकृतिका अपराधहरूको सुक्ष्म अनुसन्धान गर्ने, प्रमाण जुटाउने र पर्दा पछाडिका जस्तोसुकै चतुर अपराधीहरूलाई पनि कानुनको दायरामा ल्याउने रणनीतिक क्षमतामा केसीको विज्ञतालाई प्रहरी संगठन भित्र उच्च मूल्यांकन गरिन्छ। काठमाडौंको जटिल सुरक्षा चुनौती र बढ्दो आर्थिक तथा साइबर अपराधलाई गहिरो विश्लेषण गरेर 'इन्टेलिजेन्स बेस्ड पुलिसिङ' मार्फत समाधान खोज्न केसीको नेतृत्व उत्कृष्ट हुने एकथरी सुरक्षा विश्लेषकहरूको दाबी छ।

अर्कोतर्फ, काठमाडौं प्रहरी प्रमुखको सबैभन्दा बलिया दाबेदारको रूपमा उदाउनुभएका एसएसपी दयानिधि ज्ञवाली प्रहरी संगठनभित्र 'कमान्ड र कन्ट्रोल'का निकै दरिलो र खरो 'एक्सन ओरिएन्टेड' अधिकारीका रूपमा चिनिनुहुन्छ। देशको शान्ति सुरक्षा कायम राख्न उहाँको विगतको ट्र्याक रेकर्ड र महत्त्वपूर्ण योगदानले उहाँको दाबेदारीलाई अझै शक्तिशाली बनाएको छ। सर्लाही जिल्लाको प्रहरी प्रमुख हुँदा उहाँकै प्रत्यक्ष कमान्ड र नेतृत्वमा लामो समयदेखि कानुनको आँखा छलेर बसेका २०२ जना फरार अपराधीहरू पक्राउ परेका थिए। भारतमा मात्रै १३ वटा गम्भीर प्रकृतिका मुद्दा खेपिरहेका मोस्ट वान्टेड इन्डियन डाकाहरूको समूहलाई पेस्तोलसहित समात्ने क्रममा प्रहरीमाथि भएको आक्रमणपछि उहाँकै कमान्डमा भएको जवाफी फायरिङमा सफल इन्काउन्टर भएको थियो। यसका साथै, अर्थतन्त्रलाई भित्रभित्रै खोक्रो बनाइरहेका हुन्डीका ठूलो सञ्जाल र अपराधी कारोबारीहरूलाई तहखास लगाउन उहाँले खेलेको भूमिका प्रहरी संगठनमा अहिले पनि चर्चाको विषय बन्ने गरेको छ।

अपराध नियन्त्रणमा मात्र नभई, व्यवस्थापकीय नेतृत्वमा पनि एसएसपी ज्ञवालीको क्षमता ऐतिहासिक मानिन्छ। यसअघि भौगोलिक र सुरक्षाका दृष्टिकोणले निकै गाह्रो र चुनौतीपूर्ण मानिएको बाग्लुङ जिल्लाको प्रहरी प्रमुख हुँदा उहाँले एकै दिनमा अत्यन्तै शान्तिपूर्ण रूपमा चुनाव गराउन सफल हुनुभएको थियो। चुनावको समयमा ५०० भन्दा बढी सुरक्षाकर्मी र कर्मचारीहरूका लागि स्थानीय निकायसँगको उत्कृष्ट समन्वयमा बेड बिस्तारादेखि सम्पूर्ण लजिस्टिक व्यवस्थापन उहाँले नै गर्नुभएको थियो। उहाँको यही अहोरात्र खटाई, सफल कमान्ड र कुशल व्यवस्थापनको उच्च मूल्यांकन गर्दै बाग्लुङका नागरिक स्तरबाट उहाँलाई ५१ हजार १५१ रुपैयाँको नगद राशिसहित चारवटा छुट्टाछुट्टै भव्य पब्लिक सम्मान गरिएको थियो। जस्तोसुकै भिडभाड, आन्दोलन र तत्काल निर्णय लिनुपर्ने परिस्थितिमा फिल्डमा खटिने प्रहरी फौजलाई उच्च मनोबलका साथ परिचालन गर्न उहाँको यही विगतको अनुभव काठमाडौंका लागि अचुक अस्त्र बन्न सक्ने देखिन्छ।

यसरी हेर्दा, काठमाडौंलाई यतिबेला ज्ञवाली जस्तो 'निडर र प्रमाणित कमान्डर' तथा केसी जस्तो 'सुक्ष्म अनुसन्धानकर्ता' दुवैको उत्तिकै आवश्यकता छ। दुवै जना अधिकारीहरू निष्कलंक छवि, उच्च व्यावसायिकता र स्पष्ट भिजन भएका कारण गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई कसलाई छान्ने भन्ने सुखद् तर कठिन चुनौती खडा भएको छ। अन्ततः काठमाडौं प्रहरीको कमान्ड जसको पोल्टामा परे पनि, आम नागरिकले अपेक्षा गरेको सुरक्षित सहर, भयरहित वातावरण र चुस्त प्रहरी सेवा नै प्रमुख प्राथमिकता हुनुपर्नेछ। अपराधीको सातो लिने ज्ञवालीको 'एक्सन' कि अपराधको जरो उखेल्ने केसीको 'अनुसन्धान', अब राजधानीको सुरक्षा बागडोर कसले सम्हाल्नेछ भन्ने प्रतीक्षाको विषय बनेको छ।

प्रतिक्रिया