जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देउवा, कांग्रेस पदाधिकारी बैठक आज

ecopolinews.com

काठमाण्डौ - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको उक्त बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय समितिको एजेन्डा तय गरिनेछ।

बैठकमा पार्टी महाधिवेशनको तयारी, नेतृत्व हस्तान्तरणको विषय, र आसन्न निर्वाचनको रणनीति लगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

जेनजी युवा आन्दोलनपछि देउवा पहिलोपटक औपचारिक रूपमा राजनीतिक गतिविधिमा सक्रिय देखिन लागेका हुन्। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देउवा र उनकी पत्नी सांसद आरजु राणामाथि निवासमै आक्रमण भएको थियो। त्यस क्रममा घाइते भएका देउवा स्वास्थ्य लाभपछि अहिले पुनः पार्टी गतिविधिमा फर्कँदै छन्।

आगजनी र तोडफोडका कारण देउवाको बुढानीलकण्ठस्थित निवास क्षतिग्रस्त भएपछि उनी हाल ललितपुरमा अस्थायी रूपमा बस्दै आएका छन्।

कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तीव्र भइरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाउनु राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। पार्टी केन्द्रीय कार्यसमिति बैठक भने निर्धारित मितिमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

प्रतिक्रिया