२० असोज, काठमाडौं । हालै सुरु भएको ‘जेनजी आन्दोलन’ले नयाँ मोड लिएको छ। आन्दोलनका अगुवाहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रयास गरे पनि प्रहरी प्रशासनले जाहेरी दर्ता नंगर्ने निर्णय गरेको छ।
जेनजी अभियानका संयोजक सुदन गुरुङसहितका युवा नेताहरू सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए। उनीहरूले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनका जिम्मेवारका रूपमा ओली र लेखकलाई ठहर गर्दै कानूनी कारबाहीको माग गरेका थिए।
तर, प्रहरी स्रोतका अनुसार जाहेरी तत्काल दर्ता गरिएको छैन। “उहाँहरू जाहेरी लिएर आउनुभएको थियो। छलफलपछि हामीले फिर्ता पठायौं, अहिले समितिले छानबिन गरिरहेको अवस्थामा जाहेरी लिन नमिल्ने भनिएको हो,” प्रहरी स्रोतले भन्यो।
भदौमा भएको जेनजी आन्दोलनको विषयमा सरकारले पहिले नै न्यायिक छानबिन समिति गठन गरेको छ, जसले अहिले पनि काम गरिरहेको छ। सोही कारण प्रहरी प्रशासनले जाहेरी नदर्ता गरेको बताइएको छ।
यता, जाहेरी दर्ता हुन नसकेपछि जेनजी समूहले सामाजिक सञ्जालमार्फत ‘#KPOliArrest’ नामक नयाँ अभियान सुरु गरेको छ। उनीहरूले आन्दोलनका क्रममा जनतामाथि भएको दमन र अधिकार हननको विरोध गर्दै जिम्मेवार व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
जेनजी अभियानका अगुवा सुदन गुरुङले भने, “हामी न्याय खोज्दै गएका थियौं, तर प्रहरीको ढोका फेरि बन्द भयो। अब हामी सडक र सामाजिक सञ्जाल दुवै बाट न्यायको माग जारी राख्नेछौं।”