विपिनको सम्झनामा माइतीघरमा दीप प्रज्वलन, जेनजी युवाको भावनात्मक श्रद्धाञ्जली

ecopolinews.com

२९ असोज, काठमाडौं । इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा जेनजी युवाहरूले बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने भएका छन्।

जेनजी नेतृ रक्षा बमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विपिनको सम्झनामा आज अपरान्ह ५:३० बजे दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको बताएकी छन्।

उनले भनिन्, “भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको छ। हार्दिक श्रद्धाञ्जली विपिन — हामीले तिमीलाई फर्काउन सकेनौं, तर तिमी हाम्रो प्रेरणा बनेर बाँचिरहनेछौ।”

बमले तत्कालीन राज्यसत्ताले जोशीको मुक्तिका लागि पर्याप्त कूटनीतिक पहल नगरेको आरोप समेत लगाउँदै युवाहरूलाई दीप प्रज्वलनमा सहभागी हुन आह्वान गरेकी छन्।

कार्यक्रममा सहभागी हुने जेनजी युवाहरूले विपिनको सम्झनामा “We couldn’t bring you back home, but we will keep your light alive” भन्ने सन्देशसहित दीप प्रज्वलन गर्ने तयारी गरेका छन्।

यो कार्यक्रम मार्फत जेनजी पुस्ताले शान्ति, मानवता र कूटनीतिक उत्तरदायित्वका लागि नयाँ पीढीको आवाज बुलन्द पार्ने उद्देश्य राखेको बताइएको छ।

प्रतिक्रिया