प्रचण्ड नेतृत्व हस्तान्तरणका लागि तयार, केन्द्रीय समिति विघटनको प्रस्ताव

ecopolinews.com

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी प्रमुखमा सधैं रहिरहने चाहना नभएको स्पष्ट पार्दै जेन–जी आन्दोलनको भावना अनुसार जिम्मेवारी हस्तान्तरणको समय आएको बताए।

उनले भने, ‘केहीले भनिएझैँ म सधैं पार्टी प्रमुखमा बसिरहन चाहन्नँ। वैज्ञानिक विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेमा म स्पष्ट छु।’

प्रचण्डले वर्तमान राजनीतिक संकटको सामना गर्न नयाँ विचार, कार्यक्रम, संगठनात्मक संरचना र कार्यशैलीसहित नयाँ कार्यनीतिक शृङ्खला निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी उनले पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका छन्। ‘जेन–जी आन्दोलनको मागप्रति हाम्रो समर्थन छ। त्यसको भावनाअनुसार हामी अगाडि बढ्छौं,’ प्रचण्डले भने।

देशी–विदेशी चलखेल बढिरहेको सन्दर्भमा जिम्मेवारीपूर्वक र विधिसम्मत रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।

लोकतन्त्रको रक्षा र फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन माओवादी केन्द्रले विशेष जोड दिने प्रचण्डले स्पष्ट पारे।

प्रतिक्रिया