प्रधानमन्त्रीको स्वकीय सचिवालयले जारी गर्यो विज्ञप्ति:सबैलाई सुरक्षित भएर बस्न आग्रह

ecopolinews.com

काठमाडौं – राष्ट्रिय तथा स्थानीय स्तरका विपद् व्यवस्थापन निकायहरूलाई विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन निर्देशन दिइएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयले जारी गरेको विज्ञप्तिमा, विपद् व्यवस्थापन, खोज उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी रूपमा सञ्चालन गरी जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउन सबै निकायलाई आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सचिवालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, “सम्भावित डुबान हुन सक्ने क्षेत्रका बासिन्दाले अग्लो र सुरक्षित स्थानमा सारिनु पर्नेछ। गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र गम्भीर बिरामीलाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न आवश्यक छ। साथै, आधिकारिक निकायले जारी गरेको सूचना बमोजिम जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्नु हुन अनुरोध छ।”

प्रधानमन्त्रीको सचिवालयको यो निर्देशनले विपद् पूर्वतयारी र प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।


प्रतिक्रिया