सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीशदेखि नेपालको पहिलो महिला प्रधानमन्त्रीसम्म

ecopolinews.com

काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्रीको पदमा नियुक्त हुँदै सुशीला कार्कीले नयाँ अध्याय कोरेकी छन् । यसअघि उनी सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेर न्यायपालिकामा इतिहास रचिसकेकी थिइन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता अपनाउने कठोर छविकी कार्कीलाई हालको भ्रष्टाचारविरोधी आन्दोलनका प्रमुख शक्ति बनेका जेन जेड पुस्ताले अन्तरिम सरकारको नेतृत्वका लागि प्राथमिकतामा राखे । कानुनी पृष्ठभूमि, राजनीतिक बुझाइ, निष्पक्ष र साहसी निर्णय गर्ने क्षमताका कारण उनी आम नागरिक र विशेषगरी युवाको रोजाइमा परेकी हुन् ।

प्रारम्भिक जीवन र शिक्षा

२००९ साल जेठ २५ गते मोरङको विराटनगर शंखपुरमा जन्मिएकी कार्कीको पारिवारिक परिवेश राजनीति र प्रजातान्त्रिक आन्दोलनसँग नजिक थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक गरेकी थिइन् । २०४२ देखि २०४६ सालसम्म धरानको महेन्द्र बहुमुखी क्याम्पसमा कानुन प्राध्यापकका रूपमा अध्यापन गरिन् ।

कानुनी यात्रा

कार्कीले २०३५ सालमा विराटनगर पुनरावेदन अदालत बार एसोसिएसनको अध्यक्ष भएर कानुनी जीवनको नेतृत्व यात्रा सुरु गरिन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेपछि उनको पेशागत योगदान थप व्यापक बन्यो ।

२०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भएकी कार्की २०६७ मा स्थायी न्यायाधीश बनिन् ।२०७३ साल असार २७ गते उनी देशकै पहिलो महिला प्रधानन्यायाधीश नियुक्त भइन् र २०७४ जेठ २४ गतेसम्म यो पद सम्हालिन् ।

ऐतिहासिक फैसला र चर्चित भूमिका

प्रधानन्यायाधीशका रूपमा कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने फैसला गरेर देशव्यापी ध्यान खिचिन् । यस कदमले भ्रष्टाचारविरुद्ध उनको कठोर छवि अझ प्रस्ट पारेको थियो ।

तर त्यही बेला तत्कालीन सत्तारूढ दलका सांसदहरूले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे । १७ वैशाख २०७४ मा नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले दर्ता गरेको महाभियोग प्रस्ताव असफल भएपछि उनी पुनः सर्वोच्च फर्किन् । यो घटनाले कार्कीलाई न्यायिक स्वतन्त्रताको प्रतीकको रूपमा स्थापित गर्‍यो ।

प्रधानमन्त्रीको रूपमा ऐतिहासिक जिम्मेवारी

अब अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । युवापुस्ताको समर्थन, कानुनी ज्ञान, अटल व्यक्तित्व र निष्पक्ष छविका कारण उनी भ्रष्टाचारविरुद्धको यो संक्रमणकालीन यात्रामा देशलाई मार्गदर्शन गर्ने आशा गरिएको छ ।

कार्कीको जीवनयात्रा केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली महिलाको नेतृत्व क्षमताको ऐतिहासिक प्रमाण बनेको छ ।

प्रतिक्रिया