आईजीपी कार्कीको ‘बरियता’ कदम: एसएसपी बढुवा किन रोकियो?

ecopolinews.com

काठमाडौं – प्रहरी नेतृत्व सम्हालेको दुई दिनमै एआईजी र नौ दिनभित्र डीआईजी बढुवा गर्ने निर्णयले ‘बरियता पालना’को सन्देश दिएको आईजीपी दानबहादुर कार्की अहिले आफ्नो संगठनभित्रै प्रश्नको केन्द्रमा छन्। सबैभन्दा चासोको विषय भनेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवा किन रोकिएको हो भन्ने हो।

पहिलेका वर्षमा कात्तिक १७ मा तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको नेतृत्वमा ५ एसएसपीलाई डीआईजीमा सिफारिस गर्दा पहिलो वरियताका अधिकृत छुटाइएपछि संगठनभित्र ‘सेटिङ’को आरोप उठेको थियो। त्यसको नौ दिनपछि (कात्तिक २६) कार्कीले आईजीपीको कमाण्ड सम्हाले।

कमाण्ड सम्हालेकै दुई दिनभित्र रिक्त एआईजी पदमा ईश्वर कार्की बढुवा भए भने मंसिर १ मा डीआईजीमा विश्व अधिकारीले पदभार ग्रहण गरे। तर मंसिर २ गतेदेखि ७ वटा एसएसपी पद रिक्त रहँदा डेढ महिनासम्म बढुवा सूची ननिकालिँदा प्रहरी प्रधान कार्यालयभित्र शक्तिकेन्द्रको दबाब मुख्य कारण हुनसक्ने चर्चा चलिरहेको छ।

७ रिक्त एसएसपी पदमा १७ प्रतिस्पर्धी रहेका छन्। जसमा ३ जना विभागीय र १४ जना खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका ब्याचका सदस्यहरू छन्। बढुवाको वरियतामा पहिलो नम्बर रामप्रकाश शाह, दोस्रोमा भुवनेश्वर तिवारी रहेका छन्। बाँकी १४ अधिकृत २०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका हुन्, जसमा २५ जना एसएसपी भइसकेका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा पनि यस ब्याचबाट पहिलो नम्बरमा बढुवा भएका थिए। हाल तेस्रो नम्बरमा ऋषिराम कँडेल, चौथो नम्बरमा एसपी सुरेश काफ्ले, पाँचौं नम्बरमा अमरेन्द्रबहादुर सिंह, छैटौंमा श्यामसिंह चौधरी छन्।

नवौं नम्बरमा रहेका सुवासचन्द्र बोहरा भदौ २४ को प्रदर्शनमा उच्छृङ्खल समूहलाई प्रहरी प्रधान कार्यालय प्रवेश गर्नबाट रोकेका थिए। बाह्रौं नम्बरका राजकुमार सिलवाल विवादमा मुछिएर कारबाहीमा परेका छन्। अन्य प्रतिस्पर्धी पोखरेल, बिष्ट, खतिवडा, केसी, थापा, श्रेष्ठ र शाही व्यावसायिक काममा प्रख्यात छन्।

सरुवा र बढुवा प्रक्रिया निर्वाचन आयोगको आचारसंहिता लागू हुनु नजिकिँदै गर्दा प्रहरी नेतृत्वमाथि दबाब अझ बढ्ने देखिन्छ। फागुन २१ मा सरकारद्वारा चुनाव मिति घोषणा भइसकेकोले, चुनावअघि सुरक्षा संगठन चुस्त बनाउने दृष्टिले एसएसपी बढुवा निर्णय जारी गर्नु आईजीपी कार्कीको मुख्य चुनौती बन्न पुगेको छ।

स्रोतका अनुसार, यदि बढुवा प्रक्रिया चुनावपछि धकेलियो भने १७ एसपीबाटै दबाब आईजीपीले सामना गर्नुपर्ने हुन सक्छ।

प्रतिक्रिया