प्यालेस्टाइन मान्यतापछि नेतन्याहूको विमानले लियो अनौठो हवाई मार्ग

ecopolinews.com

जेरुसलेम । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सवार विमानले बिहीबार असामान्य हवाई मार्ग प्रयोग गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

हालै फ्रान्स, बेलायत र पोर्चुगललगायत युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए। यस कदमलाई नेतन्याहूले कडा विरोध गर्दै आएका छन्। विश्लेषकहरूका अनुसार नेतन्याहूले अपनाएको ‘दक्षिणी मार्ग’ प्यालेस्टाइनलाई समर्थन गर्ने मुलुकहरूको हवाई क्षेत्रबाट टाढा रहन खोजिएको संकेत हो।

फ्रान्सले आफ्नो आकाशमार्ग प्रयोग गर्न अनुमति दिए पनि ट्रयाकिङ डाटाले नेतन्याहूको विमानले ग्रीस र इटाली हुँदै जिब्राल्टरतिर मोडिएर एट्लान्टिक पार गरेको देखाएको छ। यसलाई नेतन्याहूले गिरफ्तारी वा कानुनी कारबाहीको सम्भावित जोखिम टार्ने उपायका रूपमा हेरिएको छ।

गत नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले नेतन्याहू र तत्कालीन रक्षामन्त्रीविरुद्ध गाजामा इजरायली आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोपमा पुर्जी जारी गरेको थियो। हालै स्पेनसहितका केही युरोपेली मुलुकहरूले ICC को छानबिनलाई खुलेआम समर्थन गरेका छन्।

नेतन्याहूले शुक्रबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्ने र आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया