नयाँ दल दर्तामा बढ्यो चहलपहल, निर्वाचन आयोगमा भीड

ecopolinews.com

काठमाण्डौ - प्रतिनिधिसभा विघटन र आगामी फागुनको निर्वाचन घोषणापछि निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी तीव्र बनेको छ। दशैं अघिसम्म आयोगमा दैनिक चार–पाँच समूह दल दर्ता प्रक्रिया बुझ्न पुगेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जनाएका छन्।

उनका अनुसार पछिल्लो समयमा युवाहरूको चासो बढेको छ र केहीले निवेदनसमेत पेस गर्न थालेका छन्। तर, कानुन अनुसार चुनाव घोषणाभन्दा तीन महिना अगाडिसम्म मात्र नयाँ दल दर्ता गर्न पाइने भएकाले समयसीमा नाघेपछि नयाँ दल दर्ता रोक्ने व्यवस्था छ।

हालसम्म १२२ दल दर्ता कायम रहेको आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने समयबारे छलफल भइरहेको जनाएको छ।

दल दर्ताका प्रमुख सर्तहरू:

कम्तीमा ५०० मतदाताको हस्ताक्षर आवश्यक

विधान, नियमावली, घोषणापत्र, झण्डा, लोगो र चुनाव चिह्नको नमुना पेश गर्नुपर्ने

पाँच वर्षभित्र आन्तरिक निर्वाचन अनिवार्य

समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने

केन्द्रीय पदाधिकारीहरूको नागरिकता र सम्पत्ति विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगले संविधान र कानुन विपरीत, साम्प्रदायिक विभाजन वा धार्मिक आधारमा चिह्न वा नाम राख्ने दललाई दर्ता नगर्ने स्पष्ट व्यवस्था गरेको छ।

 फागुनको चुनाव नजिकिँदै गर्दा दल दर्ताको चहलपहलले नेपाली राजनीतिमा फेरि नयाँ शक्ति उदाउने संकेत गरेको विश्लेषण गरिन्छ।

प्रतिक्रिया