टोखामा युवाशक्तिको मानवीय उदाहरण: खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न, जीवनदाताप्रति सम्मान र कृतज्ञता

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौं, चैत्र १४ - “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मानवीय सन्देशलाई आत्मसात गर्दै राजधानीको टोखा क्षेत्रमा आयोजित खुल्ला रक्तदान कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। सिर्जनात्मक युवा समूह नेपाल (CYG-Nepal) र टोखा नगरपालिका वडा नं. ११ को सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले युवाहरूको सामाजिक नेतृत्व, मानव सेवा र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

City Square Mall सामाखुसीमा सम्पन्न कार्यक्रममा उल्लेखनीय संख्यामा ५० जना भन्दा बढी स्वेच्छिक रक्तदाताहरूको सहभागिता रहेको थियो। प्राविधिक रूपमा Nepal Red Cross Society को सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै व्यवस्थित रूपमा रक्तसङ्कलन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम समापनका अवसरमा क्लबका कोषाध्यक्ष सञ्जिव चिलुवाल ले सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै जीवनरक्षा अभियानमा सहभागी सम्पूर्ण रक्तदाताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले रक्तदानलाई केवल सामाजिक कार्य नभई मानव जीवनसँग प्रत्यक्ष जोडिएको महान दायित्वका रूपमा व्याख्या गर्दै भन्नुभयो कि, “एक व्यक्तिको सानो योगदानले अर्को व्यक्तिको जीवन बचाउन सक्छ, त्यसैले रक्तदान मानवताको सबैभन्दा उच्च सेवा हो।”

संस्थाका अध्यक्ष विशाल सेढाई ले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक ऊर्जा र परिवर्तनको सन्देश दिएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि समाजकेन्द्रित, मानवीय तथा उत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यस अवसरमा उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संस्था तथा सहयोगीहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। विशेष रूपमा टोखा नगरपालिका वडा नं. ११, Green City Hospital, Samaj Dental Hospital, Nepal Red Cross Society, Lions Club Kathmandu Humanity 325, बिन्दबासिनी क्याटरिङ, माउन्ट रेडियन माध्यमिक विद्यालय, स्टार आइटी सोलुसन, लोकवाणी न्यूज डट कम तथा इकोपोली न्यूज डट कम लाई कार्यक्रम सफल बनाउन पुर्‍याएको योगदानका लागि हार्दिक आभार व्यक्त गरिएको छ।


आयोजकका अनुसार स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था, शैक्षिक संस्था, सञ्चारमाध्यम र युवाहरूबीचको समन्वयले यो अभियानलाई थप प्रभावकारी बनाएको हो। कार्यक्रमले समुदायस्तरमा एकता, सहकार्य, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

सिर्जनात्मक युवा समूह नेपाल (CYG-Nepal), टोखा–९ गोङ्गबु, काठमाडौं ले आगामी दिनमा पनि यस्ता जीवनरक्षक तथा समाजमुखी अभियानलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया