कांग्रेसको १५औँ महाधिवेशन: लमजुङबाट ई. सुदिप अधिकारीको सशक्त दाबी, भन्छन् "अनुहार होइन, संस्कार फेरिनुपर्छ"

ecopolinews.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले देशैभरि चुनावी सरगर्मी बढाएको छ। यसै क्रममा, लमजुङ क्षेत्र नम्बर २, सुन्दरबजार नगरपालिकाबाट ई. सुदिप अधिकारीले खुलातर्फ  महाधिवेशन प्रतिनिधि पदमा आफ्नो सशक्त दाबी प्रस्तुत गरेका छन्। नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवलाई फ्युजन गर्दै पार्टी रूपान्तरणको स्पष्ट खाकासहित उनी चुनावी मैदानमा होमिएका हुन्। अधिकारीको उम्मेदवारीले लमजुङ कांग्रेसमा नयाँ तरङ्ग ल्याएको छ।  

अधिकारीले महाधिवेशनलाई केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई पार्टीको वैचारिक र व्यावहारिक दूरी घटाउने महत्त्वपूर्ण अवसरको रूपमा लिएका छन्। "कांग्रेस किसानको पसिना, श्रमिकको मेहनत र अग्रजहरूको त्यागबाट निर्मित पार्टी हो," उनी भन्छन्, "यो केवल एउटा राजनीतिक संगठन मात्र नभई स्वतन्त्रता, सामाजिक न्याय र नागरिक स्वाभिमानको निरन्तर यात्रा हो।" गौरवपूर्ण इतिहास हुनु र त्यसको उत्तराधिकारी बन्न योग्य हुनु फरक कुरा भएको यथार्थलाई औंल्याउँदै उनले वर्तमान पुस्ताले इतिहासको गरिमा जोगाउने जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।

समयसँगै बदलिएको समाज, नागरिकका बदलिएका अपेक्षा र राजनीतिलाई हेर्ने नयाँ पुस्ताको दृष्टिकोणलाई सम्बोधन गर्न पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको चेतनालाई एकअर्काको परिपूरक बनाउनुपर्ने उनको दृढ विश्वास छ। "अग्रजले आर्जेको अनुभवबाट सिक्दै नयाँ पुस्ताले थप जिम्मेवारी लिन सक्ने वातावरण निर्माण गर्नु नै सार्थक पुस्तान्तरण हो," अधिकारी स्पष्ट पार्छन्। आफू युवा भए पनि उमेरलाई मात्रै राजनीतिक योग्यता नमान्ने उनको तर्क छ। नयाँ सोच राख्ने साहस, सिक्ने तत्परता, प्रश्न सुन्ने धैर्य र जिम्मेवारी वहन गर्ने सामर्थ्य नै वास्तविक युवापन भएको उनको बुझाइ छ।

बीपी कोइरालाको चिन्तनलाई आत्मसात् गर्दै राजनीतिको केन्द्रमा नागरिक हुनुपर्ने र लोकतन्त्रले नागरिकलाई आफ्नो अस्तित्वको अनुभूति गराउनुपर्ने उनको मान्यता छ। समाजसेवा र राजनीतिलाई एकै सिक्काका दुई पाटा मान्ने अधिकारी विश्वास मागेर नभई व्यवहारबाट आर्जन गर्नुपर्ने कुरामा जोड दिन्छन्। उनले "सबल कांग्रेस, समृद्ध नेपाल" को नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।  

उनको उम्मेदवारी सबैले भरोसा गर्न सक्ने पार्टी निर्माणको चाहनाबाट प्रेरित छ। पार्टीका आधारभूत कार्यकर्ताको भावना नेतृत्वसम्म पुर्‍याउने, वैचारिक बहसलाई जीवन्त राख्ने र राजनीतिक संस्कारमा इमानदारी र उत्तरदायित्वलाई बलियो बनाउने उनको मुख्य लक्ष्य हो। "अनुहार फेरिँदैमा राजनीति फेरिँदैन; सोच, संस्कार र कार्यशैली फेरिएपछि मात्र परिवर्तन अनुभूत हुन्छ," अधिकारीको यो भनाइले धेरैको ध्यानाकर्षण गरेको छ। इतिहासबाट सिक्ने चेतना, वर्तमान बुझ्ने विवेक र भविष्यप्रतिको स्पष्ट दृष्टिका साथ अघि बढेका ई. सुदिप अधिकारीको यो यात्राले लमजुङ कांग्रेसमा कस्तो परिणाम ल्याउनेछ, त्यो भने महाधिवेशनले नै देखाउनेछ।


प्रतिक्रिया