काठमाडौँ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जुनसुकै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए पनि पराजय भोग्नुपर्ने दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै मेयर साम्पाङले बालेन शाहको राजनीतिक भविष्यप्रति शंका व्यक्त गरेका हुन्। उनले बालेनको लोकप्रियता सामाजिक सञ्जालसम्म सीमित रहेको संकेत गर्दै चुनावी मैदानमा त्यसले काम नगर्ने टिप्पणी गरेका छन्।
बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा चलिरहेका बेला साम्पाङको यस्तो अभिव्यक्ति आएको हो।
राजनीतिक नेतृत्व र जनमतका विषयमा बेलाबेला स्पष्ट र कटाक्षपूर्ण धारणा राख्दै आएका साम्पाङको यस भनाइले आगामी निर्वाचनलाई लिएर थप बहस चर्किने संकेत देखिएको छ।