रूपन्देही, कात्तिक १३ — राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आकस्मिक निधन भएको छ।
बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक बेहोस भएर ढलेका थिए।
उनीलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइयो, तर चिकित्सकहरूले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए। संगठनभित्र उनी अनुशासित, कर्मठ र मजदुर अधिकारका दृढ आवाजका रूपमा परिचित थिए।
गौतमका दुई छोरा र श्रीमती रहेका छन्। उनको निधनले श्रमिक आन्दोलन र ट्रेड युनियन क्षेत्रमा ठूलो क्षति भएको सहकर्मीहरूले बताएका छन्।
१४ कार्तिक २०८२, बिहिबार ०२:४० मा प्रकाशित