काठमाडौँमा ‘रिचार्ज काठमाडौँ’ अभियान : वर्षाको पानी जमिनमै पुनर्भरण गर्ने महानगरको तयारी

ecopolinews.com

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ। महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले वर्षाको पानी सङ्कलन गरी जमिनमै पुनर्भरण गर्ने उद्देश्यसहित अभियान अघि बढाउन लागिएको जानकारी दिनुभयो।

डंगोलका अनुसार पछिल्लो समय काठमाडौँमा सामान्य वर्षामै पनि सडक तथा बस्तीमा पानी जम्ने र बाढीको अवस्था सिर्जना हुने गरेको छ। यस्तो समस्या तत्कालीन रूपमा मात्र समाधान गर्नेभन्दा दीर्घकालीन र वैज्ञानिक उपायमार्फत व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

महानगरपालिकाले शहरी बाढीको कारण र समाधानका उपायबारे अध्ययनसमेत अघि बढाइरहेको जनाएको छ। विगतमा शहरी क्षेत्रमा निर्माण भएका संरचना तथा विकासका क्रममा सिर्जित समस्या पहिचान गरी क्रमशः सुधार गर्दै लैजानुपर्नेमा पनि डंगोलले जोड दिनुभयो।

करिब तीन दशकअघि सुरु भएका विभिन्न शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उहाँको भनाइ छ। पानीको प्राकृतिक बहाव अवरुद्ध हुनु तथा वर्षाको पानी जमिनमा सोसिन नपाउँदा समस्या थप गम्भीर बन्दै गएको महानगरको बुझाइ छ।

काठमाडौँमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ, पानी सङ्कलन तथा रिचार्ज संरचना निर्माणजस्ता कार्यक्रम अघि बढाइने महानगरले जनाएको छ। दीर्घकालीन रूपमा भूमिगत पानीको संरक्षणसँगै शहरी बाढीको जोखिम घटाउन अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया