१५औँ महाधिवेशनको रौनक: १७ युगान्तकारी अभ्याससहित रूपान्तरणको महाअभियानमा होमियो कांग्रेस

ecopolinews.com

रविन्द्र कट्टेल - नेपाली कांग्रेस आफ्नो सांगठनिक इतिहासमा व्यापक रूपान्तरणको सन्देश दिँदै १५औँ महाधिवेशनमा होमिएको छ। आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा एक भव्य समारोहबीच उद्घाटन हुन गइरहेको यस ऐतिहासिक महाकुम्भमा देशभरबाट करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन्। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने यस महाधिवेशनलाई केवल नेतृत्व चयनमा मात्र सीमित नराखी वैचारिक र संरचनात्मक फड्को मार्ने अवसरका रूपमा लिइएको छ।

यसपटकको महाधिवेशनलाई विशेष बनाउन कांग्रेसले नेतृत्व, प्रतिनिधित्व, छलफल र प्रचारशैलीमा १७ वटा नितान्त नयाँ र प्रगतिशील अभ्यासहरू थालनी गरेको छ। संशोधित विधानअनुसार अब कांग्रेसको २ सय ३२ सदस्यीय केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवाको सुनिश्चित प्रतिनिधित्व हुनेछ भने कम्तीमा एकतिहाइ महिलाको सहभागिता अनिवार्य गरिएको छ। समावेशिताको दायरालाई फराकिलो बनाउँदै अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, द्वन्द्वपीडित र विदेशस्थित जनसम्पर्क समितिबाट समेत केन्द्रीय नेतृत्वमा बलियो प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यसका साथै, पार्टीमा विज्ञ तथा पेसाकर्मीहरूलाई सीधै नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’को नवीन व्यवस्था र ११ जना सहमहामन्त्रीको प्रावधानले कांग्रेसलाई थप समावेशी र गतिशील बनाउने दिशामा अग्रसर गराएको छ।

परम्परागत गुटगत राजनीतिलाई निरुत्साहित गर्न यसपटक औपचारिक प्यानल नबनाउने अभ्यास सुरु गरिएको छ भने विपद्को समयलाई मध्यनजर गर्दै भड्किलो प्रचार र पर्चाबाजीमा पूर्ण रोक लगाइएको छ। राजनीतिक तथा सांगठनिक दस्तावेजहरू डिजिटल रूपमा उपलब्ध गराउँदै प्रविधिलाई उच्च प्राथमिकतामा राखिएको छ। विद्युतीय मतदानको प्रयास अन्तिममा सफल नभए पनि प्रतिनिधिका हरेक सुझाव र बहसको व्यवस्थित अभिलेख राख्ने व्यवस्था मिलाइएको छ। हिमाल, पहाड र तराई–मधेश गरी तीन छुट्टाछुट्टै संरचनामा प्रदेशगत समूह बनाएर बन्दसत्र सञ्चालन गर्ने तयारीले तल्लो तहका समस्यालाई सुक्ष्म रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको छ।

महाधिवेशनको सरगर्मी बढिरहँदा पार्टीको सांगठनिक संरचनालाई अन्तिम रूप दिन नेताहरू तीव्र आन्तरिक कसरतमा जुटेका छन्। पदाधिकारीको संख्या थप गर्ने महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। उक्त बैठकले पदाधिकारी संख्या केही बढाउने प्रस्ताव पारित गरी महाधिवेशनमा पेस गर्ने तयारी गरेको छ, जसले बदलिँदो राजनीतिक परिस्थितिमा सबै पक्षलाई समेटेर बलियो र एकताबद्ध कांग्रेस निर्माण गर्ने स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया