काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि प्रस्ताव गरेकी डा. संगीता कौशल मिश्राको नाम अन्तिम समयमा सूचीबाट हटाइएको छ।
प्रधानमन्त्री कार्कीले आइतबार पाँच जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्। तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान चलाइरहेकाले सोमबार उनको नाम काटेर चार मन्त्री मात्र राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको हो।
त्यसअनुसार आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्। स्वास्थ्य मन्त्रालय भने हालका लागि खाली राखिएको छ।
डा. मिश्राले केही समयअघि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। नागरिकता र अनियमितता विवादका कारण उनी विवादमा तानिएकी थिइन्।
यसअघि अन्तरिम सरकारमा अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा तथा पूर्वाधारमा कुलमान घिसिङ, र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।
जेनजी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। अब उनको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न
गर्नु हो।