काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै आवश्यक कागजात वडा तहबाटै उपलब्ध गराउने व्यवस्था गर्न सरकार गृहकार्यमा जुटिरहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्दै आएका झन्झट, ढिलासुस्ती र ठगीका घटनालाई अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको स्पष्ट पार्नुभयो । अहिले श्रम स्वीकृति, राहदानीलगायत कागजातका लागि विभिन्न कार्यालय धाउनुपर्दा श्रमिकहरू दलाल र बिचौलियाको जालोमा पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले देशभित्र सानो काम गर्नसमेत अनेक अवरोध र झमेला व्यहोर्नुपर्दा नेपाली युवाहरू श्रमको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्नुभयो । राज्यको कमजोर उपस्थिति र प्रभावकारी सेवा प्रवाहको अभावकै कारण श्रमिकहरू देशभित्रै ठगीको सिकार बन्नुपरेको उहाँले स्वीकार गर्नुभयो ।
“राज्य श्रमिकको पक्षमा समयमै उपस्थित हुन नसक्दा दलालहरू हावी भएका छन्,” मन्त्री भण्डारीले भन्नुभयो, “अब यो अवस्था बदल्नैपर्छ । श्रमिकले आफ्नै वडा कार्यालयबाट सेवा पाउने वातावरण निर्माण गरिन्छ ।”
कार्यक्रममा मन्त्री भण्डारीले नेपाली युवालाई देशभित्रै श्रम गरेर केही गर्ने संकल्प गर्न आग्रह गर्नुभयो । युवाहरूमा अपेक्षा धेरै तर श्रम गर्न हिच्किचाउने प्रवृत्ति चुनौतीको रूपमा देखिएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा प्रणालीलाई विस्तार गर्दै श्रमिकमैत्री नीतिहरू लागू गरिएमा देशमै रोजगारीको सम्भावना बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सरकारको यो पहल कार्यान्वयनमा आएमा वैदेशिक रोजगारी प्रक्रिया सरल हुने, श्रमिक ठगी न्यून हुने र स्थानीय तहबाटै राज्यको उपस्थिति अनुभूत हुने अपेक्षा गरिएको छ।