रविन्द्र कट्टेल - काठमाडौँ: शल्यक्रिया कक्ष (अपरेसन थिएटर) भित्र बिरामीको जीवन र मृत्युको दोसाँधमा एउटा अदृश्य तर सबैभन्दा महत्त्वपूर्ण शक्ति हुन्छ- एनेस्थेसिया। जब शल्यचिकित्सकको चक्कुले शरीर छुन्छ, तब बिरामीलाई पीडामुक्त राख्ने र उसको श्वासप्रश्वासदेखि मुटुको धड्कनसम्मको नियन्त्रण गर्ने जिम्मेवारी एनेस्थेसियोलोजिस्टको हुन्छ। नेपालमा यही अत्यन्त संवेदनशील विधा (एनेस्थेसिया) र 'क्रिटिकल केयर मेडिसिन'लाई आधुनिक युगमा प्रवेश गराउने एक जिउँदो इतिहास हुन्- प्रा.डा. मोदनाथ मरहट्टा।
करिब २७ वर्ष लामो अटुट र निष्कलंक सेवापश्चात् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) बाट अवकाश लिएका प्रा.डा. मरहट्टा हाल नेपाल मेडिकल कलेजको प्रिन्सिपलका रूपमा कार्यरत छन्। ६६ वर्षअघि गोरखाको पहाडी गाउँ मिरकोटमा जन्मिएका उनले चिकित्सा सेवामा चार दशकभन्दा लामो समय बिताइसकेका छन्। तर, उनको यो सफलताको शिखरसम्मको यात्रा भने सहज थिएन; यो त विद्रोह, दृढ संकल्प र सेवाभावले भरिएको एक रोमाञ्चक कथा हो।
एउटा 'विद्रोह' जसले देशलाई उत्कृष्ट चिकित्सक दियो
प्रा.डा. मरहट्टाको बाल्यकाल गोरखाको मिरकोट (हाल पालुङटार नगरपालिका) को सामान्य परिवेशमा बित्यो। उनी कक्षा ६ मा पढ्दै गर्दा गाउँको प्रस्तावित निम्न माध्यमिक विद्यालयले थप कक्षा सञ्चालन गर्न नसक्ने भन्दै हात उठायो। विद्यालय बन्द भएपछि उनका धेरै साथीहरू पढाइको माया मारेर मुग्लान पसे। तर, मोदनाथको मनमा भने शिक्षाको भोक जागिसकेको थियो।
परिवारले उनलाई तनहुँको चुँदीमा संस्कृत पढ्न पठाउने निधो गर्यो। तर, आधुनिक शिक्षा हासिल गरेर समाजमा केही नयाँ गर्ने हुटहुटी बोकेका उनी संस्कृत पढ्न तयार थिएनन्। घरमा सबै तयारी भइसकेको अवस्थामा उनी कसैलाई पत्तो नदिई सुटुक्क भागे। करिब डेढ घण्टाको उकालो-ओरालो पैदल यात्रा छिचोल्दै उनी छिमेकी गाविसको लक्ष्मी माध्यमिक विद्यालय पुगे। बीचै सत्रमा आएको भन्दै प्रधानाध्यापकले भर्ना लिन मानेनन्। तर, मोदनाथले ढिपी छाडेनन्। अन्ततः उनको जिद्दीको अगाडि विद्यालय झुक्न बाध्य भयो र प्रवेश परीक्षा लिइयो। परीक्षामा अन्य सबै विद्यार्थीलाई उछिन्दै उत्कृष्ट नतिजा ल्याएपछि विद्यालयले उनलाई स-सम्मान भर्ना लियो। त्यही दिनदेखि सुरु भयो उनको जीवनको नयाँ अध्याय।
इन्जिनियरिङ छाडेर रोजेको चिकित्सा सेवा
स्कुले पढाइ सकेर काठमाडौँ आएका उनले २०३४ सालमा महाराजगन्ज क्याम्पसबाट 'हेल्थ असिस्टेन्ट' (एचए) को पढाइ सुरु गरे। २०३८ मा पढाइ सकिएपछि उनको पहिलो पोस्टिङ गोरखाकै अति दुर्गम चुमनुब्रीस्थित छेकमपार हेल्थ पोस्टमा 'इन्चार्ज'का रूपमा भयो। त्यहाँको दुई वर्षे बसाइले उनलाई ग्रामीण नेपालको स्वास्थ्य अवस्थाको असली चित्र देखायो।
एस.एल.सी पास गरेर काठमाडौँ आउँदा उनी इन्जिनियरिङ र मेडिकल कुन पढ्ने भन्ने दुविधामा थिए। असाधारण मेधावी उनले दुवैतर्फको प्रवेश परीक्षा सजिलै पास गरेका थिए। उनका धेरै साथीहरू इन्जिनियरिङतर्फ लागे, तर गुरुहरूको सल्लाह र भित्रैदेखि पलाएको सेवाभावले उनलाई मेडिकल क्षेत्रतर्फ डोर्यायो। पछि, रसिया सरकारको छात्रवृत्तिमा 'एम.डी मेडिसिन' पढ्ने अवसर पाए। ७ वर्षको कठोर अध्ययनपछि २०४६ सालमा चिकित्सक बनेर उनी स्वदेश फर्किए र प्रसूति गृह, टिचिङ अस्पताल तथा कान्ति बाल अस्पतालमा सेवा गर्न थाले।
विज्ञताको स्वाभिमान: जब उनले सरकारी जागिरलाई लात हाने
कान्ति अस्पतालमा काम गर्दा उनलाई एनेस्थेसिया विधाले तान्यो। उनी भन्छन्, "यो यस्तो विधा हो जसले बिरामीलाई तत्कालै नतिजा दिन्छ। एनेस्थेसियाको समयमा बिरामीको जिन्दगी पूर्ण रूपमा चिकित्सकको हातमा हुन्छ।" यही चुनौतीलाई स्वीकार गर्दै उनले टिचिङ अस्पतालबाट एनेस्थेसियामा उच्च शिक्षा हासिल गरे।
तर, सरकारी प्रणालीको अदूरदर्शिता तब देखियो जब स्वास्थ्य सेवा विभागले उनलाई एनेस्थेसिया विशेषज्ञका रूपमा सप्तरीको कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो, जहाँ उनको विज्ञताको कुनै काम नै थिएन। आफ्नो सीप खेर जाने देखेपछि उनले सरकारलाई आफूलाई उपयुक्त ठाउँमा खटाउन आग्रह गरे। सुनुवाइ नभएपछि उनले आफ्नो स्वाभिमान र विज्ञतामा सम्झौता गरेनन्; ठाडै सरकारी जागिरबाट राजीनामा दिए। मानिसहरूले उनलाई 'सरकारी जागिर छोड्ने कस्तो मान्छे' भनेर आलोचना गरे, तर उनी आफ्नो अडानमा प्रस्ट थिए। लगत्तै उनी टिचिङ अस्पतालमा असिस्टेन्ट लेक्चररका रूपमा जोडिए र पाकिस्तान तथा अस्ट्रेलियाबाट फेलोशिप गर्दै प्राध्यापक र विभागीय प्रमुखको जिम्मेवारीसम्म पुगे।
नेपालको पहिलो 'ओपन हार्ट सर्जरी'का सारथी
नेपालमा 'क्रिटिकल केयर मेडिसिन' को प्राज्ञिक अध्ययनको जग बसाल्ने श्रेय प्रा.डा. मरहट्टालाई नै जान्छ। नेपालको चिकित्सा इतिहासमा स्वर्णाक्षरले लेखिएको दुईवटा घटनामा उनको प्रत्यक्ष नेतृत्व छ:
२०५३ साल: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपालमै पहिलोपटक 'ओपन हार्ट सर्जरी' हुँदा बिरामीलाई सुरक्षित रूपमा एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी उनैले निर्वाह गरेका थिए।
२०५८ भदौ १८: सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भएको पहिलो ओपन हार्ट सर्जरीमा पनि उनकै नेतृत्वमा एनेस्थेसिया दिइएको थियो।
यसका साथै, शिक्षण अस्पतालको आइसियू (ICU) सेवालाई आधुनिकीकरण र विस्तार गर्नमा उनको भूमिका अतुलनीय छ।
कर्णालीमा बालेको प्राज्ञिक उज्यालो
सन् २०१७ मा जब उनी एक वर्षका लागि काजमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे, त्यहाँ निराशाको बादल थियो। तत्कालीन उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेको अनुरोधमा त्यहाँ पुग्दा कर्मचारीमा असन्तुष्टि थियो र प्रतिष्ठानले गति लिनेमा कसैलाई विश्वास थिएन।
तर, मरहट्टाले हार मानेनन्। उनले एक वर्षको छोटो अवधिमै त्यहाँ चमत्कारिक परिवर्तन ल्याए। एनेस्थेसिया, गाइनोकोलोजी, एमडिजिपी र अर्थोपेडिक्स विधामा 'पीजी' (Post Graduate) कार्यक्रम सञ्चालन गराएरै छाडे। "उपकुलपति प्रा.डा. वाग्लेको अडान र हाम्रो टिमको मिहिनेतले त्यहाँ पीजी सुरु भयो, जसले आज कर्णालीमा एमबीबीएस (MBBS) कार्यक्रम सञ्चालनको बलियो आधार तयार गर्यो," उनी गर्वका साथ स्मरण गर्छन्।
यति मात्र होइन, चिकित्सकहरूलाई अनुसन्धानमा प्रेरित गर्न सन् २०१८ मा उनले प्रतिष्ठानको आफ्नै मेडिकल जर्नल 'जेकाश' (JKahs) सुरु गरे र त्यसको प्रधान सम्पादकको भूमिका आफैँले निर्वाह गरे। आज त्यही जर्नल कर्णालीको स्वास्थ्य सेवा र अनुसन्धानको प्रमुख 'गाइडलाइन' बनेको छ।
बदलिँदो स्वास्थ्य परिवेश र आगामी गन्तव्य
चार दशक लामो आफ्नो यात्रालाई फर्केर हेर्दा प्रा.डा. मरहट्टा नेपाली स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका साक्षी हुन्। "मैले सेवा सुरु गर्दा हैजा, झाडापखाला जस्ता सरुवा रोगको प्रकोप धेरै थियो, तर अहिले क्यान्सर, मुटुरोग जस्ता नसर्ने रोगको चाप बढेको छ," उनी भन्छन्, "पहिले सीमित पहुँचमा रहेको स्वास्थ्य सेवा अहिले विस्तार भएको छ र आधुनिक चिकित्साप्रति जनविश्वास बढेको छ। यो हाम्रो समग्र राष्ट्रको ठूलो उपलब्धि हो।"
आफ्नो अतुलनीय योगदानका लागि सन् १९९८ मा 'बेस्ट डाक्टर अवार्ड' र २००४ मा 'एजुकेसन अवार्ड' बाट सम्मानित प्रा.डा. मरहट्टाले नेपाल चिकित्सक संघ (NMA) को महासचिव र वरिष्ठ उपाध्यक्षको रूपमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनकै कूटनीतिक पहलमा नेपाल मेडिकल एसोसिएसनले विश्व चिकित्सक संघ (World Medical Association) को सदस्यता प्राप्त गर्न सफल भएको थियो।
औपचारिक अवकाश र विभिन्न उच्च ओहदाको जिम्मेवारीपछि पनि उनको ऊर्जा घटेको छैन। हाल नेपाल मेडिकल कलेजलाई प्राज्ञिक उत्कृष्टताको दिशामा डोर्याइरहेका प्रा.डा. मरहट्टाको आगामी योजना अझै बृहत् छ- आफ्नो बाँकी जीवन समुदायस्तरमा पुगेर प्रत्यक्ष स्वास्थ्य सेवामा समर्पित गर्ने। संस्कृत पढ्न अस्वीकार गर्दै गाउँको उकालो काटेको त्यो सानो बालक आज नेपालको चिकित्सा क्षेत्रको एउटा विशाल वटवृक्ष बनेर उभिएको छ, जसको छहारीमा हजारौँ बिरामीले जीवनदान पाएका छन् भने सयौँ नयाँ चिकित्सकहरूले भविष्य कोरेका छन्।