जेन-जी आन्दोलनबाट प्रभावित पत्रकारलाई क्षतिपूर्ति देऊ: महासंघ अध्यक्ष निर्मला शर्मा

ecopolinews.com

रविन्द्र कट्टेल - नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ७१औँ स्थापना दिवसका अवसरमा 'जेन-जी आन्दोलन' का क्रममा भौतिक तथा मानसिक मारमा परेका सञ्चारगृह र पत्रकारहरूलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराई उनीहरूको मनोबल बढाउन सरकारसँग आग्रह गर्नुभएको छ। महासंघले संकलन गरेको विवरणअनुसार आन्दोलनका क्रममा धेरै पत्रकारहरू दुर्घटनामा परेका र सञ्चार गृहहरूमा क्षति पुगेको उल्लेख गर्दै नवनिर्वाचित दुई तिहाइको सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको तर्क छ। सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचनाको चुनौतीका बीच सत्य र तथ्यमा आधारित पत्रकारिता नै आजको मुख्य जिम्मेवारी रहेको बताउँदै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको नियन्त्रण र हस्तक्षेप महासंघलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। साथै, लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुनहरू सरोकारवाला पक्षसँगको पर्याप्त छलफलपछि मात्र ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिक्रिया