काठमाडौँ । आम चुनावको एक महिना नबित्दै रास्वपाका सांसदहरू 'माननीय' शब्दको बोझले थिचिन थालेका छन्। जनताले दिएको म्यान्डेट जनसेवाका लागि भए पनि केही सांसदहरूको व्यवहारले 'सत्ता बदलियो तर सोच बदलिएन' भन्ने स्पष्ट पारेको छ। 'सुशासन' को भाषण गर्नेहरू नै अहिले सामाजिक सञ्जालमा हाँसोको पात्र र आलोचनाको केन्द्र बनिरहेका छन्।
१. साइकले सांसदको 'सेतो प्लेट' मोह
सिन्धुलीका सांसद आशिष गजुरेल भक्तपुरदेखि सिंहदरबारसम्म साइकल चढेर जाँदा निकै वाहवाही पाए। तर, यो चर्चा धेरै दिन टिकेन। संसदमा 'पूर्वाधार विकास समिति'को सभापति बनेपछि उनी जिल्ला जाँदा भने सेतो प्लेटको सरकारी विलासी गाडी लिएर पुग्छन्। स्थानीयले प्रश्न गरेका छन्— "माननीय ज्यू, काठमाडौँमा देखिने साइकल सिन्धुलीका उकाली-ओरालीमा किन देखिएन? कि यो केवल सस्तो लोकप्रियताका लागि गरिएको नाटक मात्रै थियो?"
२. 'शाही' ठाँट: छाता पनि अरूले नै ओढाइदिनुपर्ने!
रास्वपाका महामन्त्री एवं गोरखाका सांसद कबिन्द्र बुर्लाकोटीको हालै एउटा तस्बिर भाइरल भयो। सोफामा बसेर चिया पिउँदै गर्दा पछाडिबाट एक व्यक्तिले उनलाई छाता ओढाइरहेका छन्। अरू सर्वसाधारण भिजिरहँदा 'नयाँ नेता'को यो महाराजा शैलीले जनता र प्रतिनिधिबीचको दूरी कति छ भन्ने छताछुल्ल पारेको छ। पछि उनले "कसले ओढायो थाहा भएन" भनेर पन्छिन खोजे पनि "देख्नेलाई लाज" हुने अवस्था सिर्जना भएको छ।
३. पूर्व एआईजीको 'पावर ह्याङ्गओभर': हेडसरमाथि गर्जन
ओखलढुङ्गाका सांसद विश्वराज पोखरेलले त दम्भको सीमा नै नाघेका छन्। नेपाल प्रहरीका पूर्व एआईजी समेत रहेका उनले एक विद्यालयका प्रधानाध्यापकलाई आफू आउँदा स्वागत गर्न ननिस्किएको भन्दै सार्वजनिक रूपमै थर्काए।
उनको चेतावनी: "म विशिष्ट श्रेणीको मान्छे हुँ, म आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने? मलाई रिसिभ गर्न आउनुपर्छ।"
प्रश्न: के विद्यालयको हेडसरको काम विद्यार्थी पढाउने हो कि कुन बेला कुन माननीय आउँछ भनेर माला लिएर गेटमा कुरिरहने हो? प्रहरीको 'ह्याङ्गओभर' राजनीतिमा देखाउनुले उनकै गरिमा घटाएको छ।
४. आफैँ सरकार, आफैँ आन्दोलन: खगेन्द्र सुनारको 'सेलेक्टिभ' न्याय
सिन्धुलीमा एक युवकको हिरासतमा मृत्यु भएको घटनालाई लिएर रास्वपा सांसद खगेन्द्र सुनार सडकमै धर्ना बसे। अनौठो त के छ भने, उनकै पार्टी सत्तामा छ, प्रधानमन्त्री र गृहमन्त्री उनकै सहकार्यका छन्। तर, उनले आफ्नै सरकारलाई दबाब दिनुको सट्टा सडकमा 'दलित मार्न पाइँदैन' भन्दै जातीय कार्ड खेलिरहेका छन्। "नागरिक मार्न पाइँदैन" भन्नुको सट्टा जातीय नारा लगाउनु र आफ्नै सरकारविरुद्ध सडकमा 'छुद्र' बोली बोल्नुले उनको अपरिपक्वता छताछुल्ल पारेको छ।
प्रधानमन्त्रीको मौनता र रास्वपाको खस्कँदो साख
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार बनेको एक महिनामै आफ्ना सांसदहरूलाई लगाम लगाउन नसक्नु रास्वपाको कमजोरी देखिएको छ। 'स्टन्ट' र 'दम्भ'ले केही दिन चर्चा त देला, तर यसले जनताको विश्वासमा डढेलो लगाइरहेको छ।
निष्कर्ष: यदि यी 'नयाँ' भनिएका पात्रहरूले आफ्नो सोच र शैली बदलेनन् भने, बाँकी ५९ महिना जनताका लागि होइन, उनीहरूकै मनोरञ्जनका लागि मात्र बित्ने निश्चित छ। सत्ताको उन्मादले कतिपयलाई 'पेन्सन' खाने कर्मचारीको जस्तो व्यवहार गर्न सिकाएको छ भने कतिपयलाई सस्तो स्टन्टको मोहले गाँजेको छ।
आगे माननीयज्यूहरूको मर्जी!
source:jana aastha