काठमाडौं, २७ फागुन।काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर अत्यन्तै खतरनाक रूपमा बढेपछि नेपाल प्रहरीले नागरिकलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ। प्रदूषणको असर मानव स्वास्थ्यमा गम्भीर हुन सक्ने भन्दै प्रहरीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रदूषणको मात्रा अस्वाभाविक रूपमा बढेपछि प्रहरी प्रधान कार्यालयले आज विशेष सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
प्रहरीले जारी गरेको छ बुँदे अनुरोधमा अत्यावश्यक कामबाहेक घरबाहिरको गतिविधि कम गर्न, सवारीसाधनको प्रयोग घटाउन र सकेसम्म समूहमा मिलेर यात्रा गर्न सुझाव दिइएको छ। यसका साथै वरिपरि आगो लगाएर फोहर जलाउने कार्य नगर्न र वायु प्रदूषण बढी भएका समयमा बाहिरी गतिविधि नगर्न पनि आग्रह गरिएको छ।
प्रहरीले विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन अनुरोध गरेको छ। घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न र स्वास्थ्यमा समस्या देखिए तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न पनि सुझाइएको छ।
पछिल्लो समय मौसममा आएको परिवर्तन र हावाको बहाव कम भएका कारण काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा धुलो, धुवाँ र अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै गएको छ। यसले गर्दा वायुको गुणस्तर झन् बिग्रिँदै गएको विशेषज्ञहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले पनि यस अवस्थालाई गम्भीर रूपमा लिँदै नागरिकलाई आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन, अनावश्यक रूपमा बाहिर ननिस्कन र सुरक्षात्मक उपायहरू अपनाउन सबैमा अनुरोध गरेको छ।