काठमाडौं । संसद भवन नजिकै भएको जेन–जी आन्दोलनको क्रममा ठूलो संख्यामा घाइते परेपछि बानेश्वरस्थित एभरेष्ट अस्पताल आकस्मिक उपचार केन्द्र बनेको थियो। आन्दोलन सुरु हुनु अघि नै सम्भावित दबाबको आकलन गरिएको भएपनि, गम्भीर घाइते यति धेरै आउने अनुमान भने कसैले गरेका थिएनन्। तर, त्यतिबेला अस्पतालको नर्सिङ प्रमुख मिरा पोखरेलले देखाएको दृढ नेतृत्व र संवेदनशीलताले उपचार व्यवस्थापनलाई सहज र प्रभावकारी बनाएको थियो।
‘हामीसँग आउने प्रत्येक जीवनलाई जोगाउन सक्ने प्रयासमै हामी केन्द्रित थियौं। प्रारम्भिक झट्का भयावह थियो तर स्वास्थ्यकर्मीहरूको मनोबल नघटाउने जिम्मा मेरो थियो,’ पोखरेल सम्झन्छिन्।
गम्भीर घाइतेको चापबीच नर्सिङ नेतृत्व
आन्दोलनको पहिलो घाइते १२:३० बजे अस्पताल आइपुग्दा नै गोली लागेको थियो। त्यो केसले सम्पूर्ण टोलीलाई एक्कासी आपतकालीन मोडमा धकेल्यो। नर्सिङ प्रमुख पोखरेलले तत्कालै ड्युटीमा नभएका नर्स र स्वास्थ्यकर्मीलाई बोलाउने निर्णय गरिन्, जसले अस्पतालमा उपचार व्यवस्थापनलाई सन्तुलित बनायो।
‘केही मिनेटमै मृत्यु हुने अवस्था देख्दा हाम्रो मन दुख्थ्यो, तर भावुक भएर समय गुमाउने स्थिति थिएन। उपचार निरन्तरता नै प्राथमिकता थियो,’ उनले बताइन्।
पहिलो दिनमै १ सय ४ घाइते
एभरेष्ट अस्पतालमा पहिलो दिनमै १ सय ४ घाइते आइपुगेका थिए। तिनमध्ये ४०/४५ जना उपचारपछि घर फर्किए भने गम्भीर अवस्थामा रहेका १२ जनालाई त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको थियो। दुर्भाग्यवश, ३ जनाको अस्पतालमै मृत्यु भयो।
नर्सिङ प्रमुख पोखरेलले भने, ‘सबैलाई बचाउन सकिने अवस्था थिएन, तर प्रत्येक घाइतेलाई सम्मानपूर्वक उपचार दिन हामी सफल भयौं। यो परिस्थितिमा सानो र निजी अस्पतालले पनि आफ्नो क्षमताभन्दा बढी काम गरेकोमा गर्व छ।’
मनोबल अभिवृद्धिमा पोखरेलको योगदान
डाक्टर र प्राविधिक स्टाफलाई तालमेल गर्दै, आकस्मिक अवस्थामा नर्सिङ सेवाको दायित्व कति महत्वपूर्ण हुन्छ भन्ने प्रमाणित पोखरेलले गरिन्। स्वास्थ्यकर्मीलाई थपाउनेदेखि बिरामीका आफन्तलाई संयमता दिन प्रेरित गर्ने कामसम्म उनले नेतृत्व गरिन्।
एभरेष्ट अस्पतालका प्रशासनिक निर्देशक दिपक चन्द्र बराल र सीनियर कन्सल्टेन्ट डा. सरोज गौडेलले पनि पोखरेलको नेतृत्व प्रशंसनीय भएको बताएका छन्। ‘त्यो दिनको तनावपूर्ण वातावरणमा नर्सिङ टिमलाई एकै ठाउँमा राखेर निरन्तर काम गर्न लगाउनु नै सबैभन्दा ठूलो उपलब्धि थियो,’ बरालले भने।
यसरी, एभरेष्ट अस्पतालमा जेन–जी आन्दोलनका घाइतेहरूको उपचार कथा केवल स्वास्थ्य सेवा मात्रै होइन, नर्सिङ प्रमुख मिरा पोखरेलको संवेदनशील नेतृत्व र समर्पणको उदाहरण पनि बनेको छ।