रविन्द्र कट्टेल
नेपाल प्रहरी हरेक ऐतिहासिक मोडमा शान्ति, सुरक्षा र न्याय स्थापनाको मेरुदण्ड बनेको संस्था हो। कुनै पनि समाज सुरक्षित नहुँदासम्म विकास, समृद्धि र सुशासनको सपना केवल नारा मात्र हुन्छ। यही कारणले समाजमा विकृति, विसंगति, अपराध र आतङ्कलाई निर्मूल पार्ने यात्रामा प्रहरीको भूमिका सदैव महत्वपूर्ण रहँदै आएको छ। विशेषतः जेन जी आन्दोलनको ज्वालामुखी समयलाई नियाल्दा, प्रहरी प्रशासनको भूमिकाले अझ गम्भीर प्रश्न खडा गर्छ।
जनताको क्रान्तिकारी स्वरलाई दबाउन तत्कालीन तानाशाही केपी सरकारको आदेशले आन्दोलनलाई दमनतर्फ धकेल्यो। सडकमा सत्य, न्याय र सुशासनको लागि लडिरहेका आम युवायुवतीलाई रोक्ने नाममा प्रहरीले आफ्ना जीवनलाई समेत जोखिममा राख्यो। प्रहरीको भीडभाड नियन्त्रित गर्ने संयमित प्रयासलाई आन्दोलनकारीको उग्रता र सरकारको दमनकारी निर्देशनले युद्धमैदानमा परिणत गरिदियो। विवश अवस्थामा गोली चल्नु पर्यो, अनि त्यसको परिणाम स्वरूप निर्दोष जनताको रगतसँगै प्रहरीका आफ्नै साथीहरू समेत ढले। त्यो क्षण केवल आन्दोलनकारी वा प्रहरी मात्रको पीडा थिएन, त्यो सम्पूर्ण राष्ट्रको पीडा थियो। किनकि सडकमा उभिएका प्रहरी पनि आम नागरिककै छोरा–छोरी थिए, र आन्दोलनमा सहभागी युवाहरू पनि देशकै भविष्य थिए।
यथार्थ के हो भने, भ्रष्टाचार, अन्याय र कुशासनविरुद्ध उभिएको जेन जी आन्दोलन मूलतः समाज र राष्ट्रलाई बचाउने अभूतपूर्व विद्रोह थियो। तर, सरकारको नालायकी, तानाशाही प्रवृत्ति र सत्तालिप्साले यस आन्दोलनलाई रगतको रंगमा डुबायो। राज्यले आफ्नो ढालको रूपमा प्रहरीलाई प्रयोग गर्यो, जसले गर्दा प्रहरी र जनताबीच स्वाभाविक विश्वास र आपसी सम्बन्धमा तिक्तता पैदा भयो। जबकि प्रहरी आफैं पनि जनता नै हुन्, उनीहरूको परिवार पनि त्यही समाजमा बाँच्छ, र उनीहरूको पनि सपना भ्रष्टाचारमुक्त, न्यायपूर्ण नेपाल नै हो।
यस आन्दोलनले एउटा कठोर सत्य उजागर गर्यो — जब शासकहरू नालायक हुन्छन्, तब राज्यको संयन्त्रहरू निर्दोष तरिकाले बलि चढ्न बाध्य हुन्छन्। जेन जी आन्दोलन र प्रहरी प्रशासनबीचको द्वन्द्व कुनै प्राकृतिक टकराव थिएन, यो शुद्ध रूपमा सत्ता लोभी नेताहरूको स्वार्थपूर्ण आदेशको परिणाम थियो। आन्दोलनकारी र प्रहरीबीचको रगतले भिजेको सडक इतिहासको कालो पानामा लेखिएको घाउ हो, जसलाई केवल सत्य, न्याय र सुशासनले मात्र निको पार्न सक्छ।
अन्ततः, प्रहरी प्रशासन र जेन जी आन्दोलनबीचको सम्बन्धलाई शत्रुताको रूपमा होइन, सहकार्य र साझा पीडाको रूपमा हेर्न जरुरी छ। प्रहरीले देशको शान्ति र सुरक्षाको लागि बलिदान दिएझैं, जेन जीहरूले भविष्यको न्यायपूर्ण राष्ट्र निर्माणका लागि आफ्नो रगत बगाए। आज जरुरी छ — जनता र सुरक्षा निकायबीच पुनः विश्वासको पुल निर्माण गर्ने, ताकि कुनै पनि सरकारले फेरि निर्दोष नागरिक र प्रहरीलाई आफ्नो कुशासन ढाकछोप गर्ने हतियारको रूपमा प्रयोग गर्न नसकोस्।
२९ भदौ २०८२, आईतबार ०९:०२ मा प्रकाशित