झापामा रहस्यमय ‘सिरिन्ज’ आक्रमण : एक जनाको मृत्यु, एक पक्राउ

ecopolinews.com

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा अज्ञात व्यक्तिद्वारा गरिएको रहस्यमय ‘सिरिन्ज’ आक्रमणमा एक जनाको ज्यान गएको छ। आक्रमणमा परेर स्थानीय बासिन्दा खेम ढकालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्किँदै गर्दा अज्ञात व्यक्तिहरूले सिरिन्ज प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणपछि गम्भीर घाइते भएका ढकाललाई तत्काल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहा निवासी २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार प्रयोग गरिएको सिरिन्जमा कुन पदार्थ प्रयोग गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनाको उद्देश्य, संलग्न अन्य व्यक्ति र आक्रमणको पृष्ठभूमिबारे थप तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ। प्रहरीले सुरक्षा सतर्कता बढाउँदै सर्वसाधारणलाई शङ्कास्पद गतिविधि देखिए तुरुन्त जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया