काठमाडौं । कोरोना महामारीको त्रास अझै समाजबाट मेटिन नपाउँदै नेपालसहित दक्षिण एसियामा फेरि अर्को गम्भीर स्वास्थ्य संकटको संकेत देखिएको छ। प्राणघातक निपाह भाइरस हालै नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा देखिएपछि नेपालमा समेत उच्च सतर्कता अपनाउन थालिएको छ।
भारतको कोलकाता नजिकैको एक अस्पतालमा दुई जना स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण पुष्टि भई उनीहरूलाई आइसियूमा राखेर उपचार भइरहेको छ। संक्रमितको सम्पर्कमा आएका करिब दुई सय जनालाई निगरानीमा राखिएको छ। निपाह भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको तथ्यले यो संक्रमण कोरोनाभन्दा पनि घातक हुन सक्ने विज्ञहरू बताउँछन्।
सबैभन्दा चिन्ताजनक पक्ष के छ भने निपाह भाइरसविरुद्ध न त खोप छ, न त निश्चित औषधि। सरुवा रोग विशेषज्ञहरूका अनुसार यो भाइरस फल खाने चमेरा र सुँगुरमार्फत मानिसमा सर्ने गर्छ। नेपालमा वनजंगलमा चमेराको बाक्लो उपस्थिति रहेकाले जोखिम झनै गहिरो हुन सक्ने चेतावनी दिइएको छ।
विशेषगरी नेपाल–भारत सीमा खुला जस्तै भएकाले दैनिक हजारौं मानिसको आवतजावत हुने अवस्था छ। यही कारण नेपाल सरकारले हवाई तथा स्थल नाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी कडा बनाएको जनाएको छ। लक्षण देखिएका यात्रुहरूलाई निगरानीमा राख्ने र आवश्यक परे अस्पताल पठाउने व्यवस्था थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
निपाह भाइरस सन् १९९८ मा मलेसियामा पहिलो पटक देखिएको थियो। त्यसयता बंगलादेश, भारतको पश्चिम बंगाल र दक्षिण भारतीय राज्य केरलामा पटक–पटक संक्रमण देखिँदै आएको छ। विश्व स्वास्थ्य संगठनले निपाहलाई भविष्यमा महामारी फैलाउन सक्ने उच्च जोखिमयुक्त रोगहरूको सूचीमा राखेको छ।
संक्रमण भएको ४ देखि १४ दिनभित्र ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण देखिन सक्छन्। अवस्था गम्भीर हुँदै जाँदा सास फेर्न गाह्रो हुने, गिदी सुन्निने (इन्सेफलाइटिस) जस्ता प्राणघातक समस्या देखिन्छन्। कतिपय अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिइकनै बिरामी सिकिस्त हुने गरेको चिकित्सकहरू बताउँछन्।
रोकथामका लागि विज्ञहरूले चमेरा र बिरामी जनावरबाट टाढा रहन, फलफूल राम्ररी धोएर र बोक्रा ताछेर मात्र खान, काँचो खजुरको जुस नखान सुझाव दिएका छन्। खोप र औषधि नबनेकाले संक्रमितलाई आइसियूमा राखेर लक्षणअनुसार उपचार गर्नु नै हालको एकमात्र विकल्प हो।
कोरोनाले दिएको पीडाबाट पाठ सिक्दै निपाह भाइरसलाई बेवास्ता गर्नु घातक हुन सक्ने चेतावनी विज्ञहरूको छ। समयमै सतर्कता, सचेतना र प्रभावकारी निगरानी नै सम्भावित अर्को महामारीबाट जोगिने एकमात्र उपाय भएको उनीहरू बताउँछन्।