जेन–जि आन्दोलन : विद्रोह कि जिम्मेवारीको मोड ?

ecopolinews.com

प्रल्हाद न्यौपाने

प्रिय जेन–जि साथीहरू,

तपाईंहरूको आन्दोलित स्वरुप र संकल्पलाई देशले अवश्य महसुस गरेको छ। तपाईंहरूको मागहरू साँचै पनि समयसापेक्ष र जनभावनासँग मेल खाने थिए। तर दुर्भाग्यवश आन्दोलनको नेतृत्वमा कमजोरी देखियो, जसको कारण देश नै जल्ने अवस्थामा पुग्यो। पछिल्ला दिनमा तपाईंहरूको गतिविधि र छलफलहरू हेर्दा देशविरोधी र व्यवस्था–संविधान विरोधी शक्तिहरूसँग नजिकिएको देखिन्छ। तपाईंहरूको आफ्नै भिडियो र प्रमाणहरूले पनि त्यही कुरालाई पुष्टि गर्छन्।

संविधानलाई मिचेर संसद विघटनको बहस गर्नु भनेको मुलुकलाई खाली गर्ने र विदेशी शक्तिको निशानामा पार्ने जोखिमपूर्ण कदम हो। यो सोच देशविरोधी हो, र तपाईंहरू अनजानेमा केही स्वार्थी शक्तिहरूको प्रयोगमा परेको आभास हुन्छ।

याद गर्नुहोस्—आन्दोलनमा चाहे जसले प्रवेश गरे पनि नेतृत्व तपाईंहरूकै हातमा थियो। त्यसैले नतिजाको जिम्मेवारी पनि नैतिक हिसाबले तपाईंहरूले लिनुपर्छ। आगोले देश जलाएर आफ्नो सपना सजाउन खोज्नु नैतिक रूपमा अस्वीकार्य हुन्छ।

त्यसमा पनि नाबालक बालबालिकालाई विद्यालयको पोशाकमै आन्दोलनमा उतार्नु अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार दण्डनीय अपराध हो। त्यो जिम्मेवारी तपाईंहरूको हो कि विद्यालय र बोर्डिङका व्यवस्थापनको—यो प्रश्न अब अभिभावकहरूले पनि गर्नेछन्। घाइते र मृतकका परिवारसँग संवाद र परामर्श कहाँ छ? उनीहरूलाई न्याय दिने योजना कहाँ छ?

अब तपाईंहरू जिम्मेवार बन्नुपर्छ। यही संविधानभित्रैबाट मुलुकलाई निकास खोज्नुपर्छ। दलबिहिन व्यवस्था निरंकुश बन्न सक्छ, जबकि यो व्यवस्था र संविधान हजारौं सहिद, बेपत्ता परिवार, घाइते योद्धा र लाखौं जनता–कार्यकर्ताको बलिदानको उपज हो। त्यसको विरोधमा तपाईंहरू उत्रनुभयो भने, एक दिन यही परिवार र जनता तपाईंहरूको विरुद्ध उर्लने सम्भावना छैन भन्न सकिँदैन।

संसदभित्रबाटै समाधान खोजौं। अग्रगामी सोच भनेको स्पष्ट हो—

संसदबाटै स्वच्छ छविको नेतृत्व चयन गर्ने,

कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन ६ महिनाभित्र गर्ने,

२०६४ सालदेखि आजसम्म भएका सबै भ्रष्टाचारको छानबिन गर्ने,

आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहिद घोषणा गर्ने,

उनका परिवारलाई राहत, रोजगारी र जीवन निर्वाहको व्यवस्था गर्ने,

घाइतेहरूको उपचार र भत्ता राज्यले सुनिश्चित गर्ने।

यी नै वास्तविक, राष्ट्रिय र जनपक्षीय माग हुन्। यिनै मागसहित राष्ट्रपति भवनमा गएर प्रत्यक्ष वार्ता गर्नुहोस्। यसैमा जनताको भलो, देशको सार्वभौमिकता र तपाईंहरूको भविष्य दुवै सुरक्षित हुन्छ।

राष्ट्रप्रेमी तपाईंहरूको शुभचिन्तक

प्रल्हाद न्यौपाने

प्रतिक्रिया